नेकपा एमाले चौरजहारी नगर कमिटी रुमुमपश्चिमको अधिवेशनमा विवाद भएको छ। जेठ १ गतेबाट सुरु भएको एमाले चौरजहारीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयनका विषयमा लिएर विवाद उत्पन्न भएको हो।
अध्यक्ष मण्डलले अध्यक्ष पदमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पदका उम्मेदवार ओमप्रकाश आचार्यले आपत्ति प्रकट गरेका छन्।
आचार्यले अध्यक्ष मण्डलले उम्मेदवारहरुबीच कुनै छलफल नगरि एकलौटी रुपमा पार्टीको विद्यान विपरीत घोषणा गरिएको अध्यक्षमा आपत्ति रहेको बताएका छन्।
अधिवेशनका लागि एमाले जिल्ला कमिटी रुकुमपश्चिमका सचिव शशिराम नेपालीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन भएको थियो। जसको सदस्यहरुमा तिलक बस्नेत, लोकेन्द्र मल्ल, टोपेन्द्र हमाल, सरीता सुनार, भद्राकुमारी खड्का, धर्मप्रसाद आचार्य, हिमप्रसाद शर्मा र गंगाराम रोकाय रहेका थिए।
यस्तै, हिरा शर्माको संयोकत्वमा चार सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको थियो। जसको सदस्यहरुमा गोपाल शर्मा, कालीबहादुर नेपाली र रुद्रबहादुर खड्का रहेका थिए।
यस्तै, अध्यक्ष मण्डलका अध्यक्षसहित अन्य चार जनाले एकलौटी रुपमा अध्यक्ष घोषणा गरेको भन्दै आपत्ति जनाएका छन्।
‘बन्दसत्रमा राजनीतिक आर्थिक तथा संगाठानिक प्रतिवेदन प्रस्तुत गरि छलफल गरे पारित भइसकेको थियो। निर्वाचन मण्डलले उम्मेदवारहरुको दरखास्त माग ग¥यो। अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना, सचिवमा १ र उप–सचिवमा १÷१ जनाको उम्मेदवारी पर्यो।’ आचार्यले भने, ‘अध्यक्ष बाहेक अन्य सबै पदहरुमा सर्वासम्मत नेतृत्व चयन भएको थियो। बाँकी अध्यक्षमा रहेको थियो। अध्यक्षका उम्मेदवार म र अतिराम ओलीबीच सर्वसम्मतको लागि छलफलबाट सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने कुरा भएको थियो।’
यस्तै, आचार्यले अध्यक्षका लागि निर्वाचन प्रक्रियामा जाने भनेपछि आफुले निर्वाचन मण्डलसाग निर्वाचनको माग गरेको बताए। उनले भने, ‘मैले निर्वाचन मण्डलसँग निर्वाचनको माग गरेको थिए। जेठ ३ गते बिहान अध्यक्ष मण्डलका सदस्य हिमप्रसाद शर्मा जिल्ला बाहिर गएको सुचना आयो। निर्वाचनका अध्यक्ष मण्डलले कुनै जानकारी निर्वाचन मण्डलले दिएन।’ उनले थपे, ‘बरु अध्यक्ष मण्डलका ४ जना अध्यक्ष मण्डलका अध्यक्ष शशिराम नेपाली, गंगाराम रोकाय, तिलक बस्नेत र धर्मा आचार्यले यदु स्मृति प्रतिष्ठान भवनको हलमा गएर भित्रबाट गेटमा ताल्चा लगाउनु भयो।’
यस्तै, उम्मेदवार आचायले अध्यक्ष मण्डलका उक्त चार जनाले अन्य अध्यक्ष मण्डलका सदस्यहरुलाई प्रवेश निषेध गरेर उम्मेदवार र उपस्थिति प्रतिनिधिहरुको मनोभावना विपरीत अध्यक्ष घोषणा गरिएको बताए।
आचार्यले भने, ‘म स्वयं अध्यक्षको उम्मेदवारसँग कुनै छलफल नगरि मनोभावना विपरीत एकलौटी तरिकाले यदु स्मृति प्रतिष्ठान भवनको छतबाट अतिराम ओली अध्यक्ष भनेर घोषणा गरियो। यो पार्टीको विधि, पद्धति र नियम विपरीत गरिएको कार्यको घोर निन्दा र आपत्ति प्रकट गर्दछु।’
यस्तै, आचार्यले आफ्नो नेतृत्वमा ४९ सदस्यीय नगर कमिटी घोषणा गरिएको बताए। उनले भने, ‘मेरो पक्षमा ८० प्रतिशत प्रतिनिधि देखिएपछि अध्यक्ष मण्डल निर्वाचनबाट पछि हटेर सहमति नभएको अवस्थामा निर्वाचनमा जाने बाटो हुँदा हुँदै पनि जबरजस्ती अध्यक्ष घोषणा गर्नु दुखत हो।’
यस्तै, यता अध्यक्ष मण्डलका अध्यक्ष शशिराम नेपालीले एकलौटी नभएर सबैको सहमतिमा अध्यक्ष घोषणा गरिएको दाबी गरे। उनले भने, ‘अन्य पदहरुमा सर्वसम्मत भइसकेको थियो। बाँकी अध्यक्षपदमा तीन दिनसम्म छलफल हुँदा पनि कुनै सहमति नभएपछि अतिराम ओलीलाई अध्यक्ष घोषणा गरिएको हो।’
उनले थपे, ‘निर्वाचन मण्डल, अध्यक्ष मण्डल, प्रतिनिधिहरु तथा माथिल्लो स्तरका नेताहरुको पनि ओलीकै पक्षमा बहुमत देखिएपछि घोषणा गरिएको हो। एकलौटी हैन्। विवाद पनि छैन्।’