घटना–१ : १ माघ २०७९ मा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ८ वर्षीय भिजन घर्तीको हत्या भयो । ‘आफूलाई देउता चढेको भन्दै’ स्थानीय २८ वर्षीय डम्बरबहादुर पुरीले घर नजिकै रहेको मन्दिरमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्योे ।
जिल्ला अदालत सल्यानले २१ चैत २०७९ मा आरोपि पुरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । पुरी मनोसामाजिक समस्या रहेको बताइन्छ । परम्परागत सोच अर्थात देउता चढेको भन्दै पुरीले बालकलाई बलि चढाउने नाममा हत्या गरिदिएका थिए ।
घटना–२ : सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेकी २७ वर्षीया केवली राणाको १ जेठ २०८१ मा धारिलो हतियार प्रहार गरेर हत्या गरी ३२ वर्षीय पति केशव राणाले सोही दिन आत्महत्या गरे । १३ दिने सुत्केरी पत्नीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै, बुधबार १८ महिने छोरीलाई सलको पासो लगाएर मार्न खोजेको आरोपमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१४ लोरिवाङकी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले पक्राउ गरेको छ । छोरीलाई पासो लगाएर भिडियो बनाउन खोज्दा छिमेकीले देखेपछि घटनाको बारेमा प्रहरीलाई जानकारी गराइएको थियो ।
घटना–३ : रुकुम पश्चिमको खलंगास्थित सत्कार होटलको कोठा नम्बर १ मा ३० असोज २०८० मा एक युवतीको शव फेला प¥यो । शंकास्पद अवस्थामा भेटिएको शवको पहिचान प्रहरीले मुसीकोट नगरपालिका–७ साँखाकी २८ वर्षीया भावना विकको रुपमा ग¥यो । भावना मुसीकोट नगरपालिका–१, छिङस्थित माइती घरमा बस्दै आएकी थिइन् ।
भावनाको गला रेटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका लागि नेपालगन्जस्थित केनाई शाखाबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटियो ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८ सय ३५ रुपैयाँ र मोबाइल फोन बरामद गरेर अनुसन्धान थाल्यो । घटनास्थलबाट बरामद भएको मोवाइलको जब प्रहरीले कल डिटेल निकाल्यो तब प्रहरीले अचम्मको तथ्य फेला पा¥यो ।
उक्त कल डिटेलमा २५ दिनको अवधिमा भावना र एक युवकसँग एक सय २४ पटक सम्पर्क भएको तथ्य प्रहरीले पत्ता लगायो । कल डिटेलका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरी भावनासँग फोन सम्पर्कमा रहेका सानीभेरी नगरपालिका–९, का लोकेन्द्र भनिने लोकबहादुर विकको खोजीमा जुट्यो ।
प्रहरी अभियुक्त विकलाई खलंगास्थित आफ्नै कोठाबाट पक्राउ गर्न सफल भयो । पक्राउ परेका विकमाथि प्रहरीले अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानमा विकले भावनाको घाटी रेटेर हत्या गरेको स्वीकारेपछि प्रहरीले ३ कार्तिकमा विकलाई सार्वजनिक गरेको थियो ।
विक ती व्यक्ति हुन् जसलाई गत असोज ३ गते संविधान दिवसका अवसरमा चालचलन राम्रो भएको भन्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएका थिए । लोकेन्द्रले उनीहरूबीच अनैतिक प्रेम सम्बन्ध रहेको र भावनाको बिहे गर्ने प्रस्तावले विवाद बढेपछि घाटी रेटेर हत्या गरेको स्वीकारेको अनुसन्धानबाट खुलेको थियो ।
घटना–४ : ३० भदौ २०८० को राति सल्यानको त्रिवेणी गाउँपालिका–२, काँरागिठीमा आमाछोरीको शव जलेको अवस्थामा फेला परेको थियो । जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर–२, झालेढुंगास्थित थापा टोल बस्ने सुकलाल थापाको टिनले छाएको एकतले कच्ची घरमा थापाकी श्रीमती वर्ष २९ की रेवती थापा र उनकी छोरी ९ महिनाकी रितु थापा सुतेका थिए ।
बिहान अबेरसम्म आमाछोरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएपछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा खबर गरेका थिए । स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरे पनि घटनाको प्रकृतिअनुसार प्रहरीले हत्या भएको हुन सक्ने निष्कर्ष निकाल्दै सूक्ष्म अनुसन्धान थालेको थियो ।
घटना भएलगत्तै प्रहरीले रेवतीले प्रयोग गरेको मोबाइलबाट केही सुराक पत्ता लगाएको प्रहरीले उक्त घटनामा संलग्न सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँ स्थायी ठेगाना भएका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई ३ असोजमा सार्वजनिक गरेको थियो ।
आरोपित कर्णबहादुर बस्नेतले मृतक रेवती थापासँग पुरानो रिस साँध्नलाई विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपित बस्नेतको मृतक रेवती थापासँग झण्डै सात वर्षअघि फेसबुकमार्फत चिनजान भएको र कुराकानी हुँदै जाँदा गहिरो प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटना–५ : १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारीस्थित सोतीगाउँमा प्रेमिका लिन गएका जाजरकोटका नवराज विक र उनका अन्य ५ जना साथीहरूको सपना भने भेरीमा विलिन भएको तीन वर्ष पुग्यो ।
जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराजसहित गणेश बुढा मगर, सञ्जु विक, भेरी नगरपालिका वडा–११ मटेलाका लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका वडा न. १ रुकुम पश्चिमका टिकाराम नेपालीको सोतीका गाउँलेहरूले लेखेटेर कुटपिट पश्चात हत्या गरी भेरीमा बगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
उल्लेखित घटना व्यक्तिगत रिसइवी र सामान्य कुरा सहन गर्न नसक्दा विवाद बढेर विभत्स हत्यासम्म पुगेका केही प्रतिनिधिमुलक घटना हुन् । पछिल्लो समय सल्यान र रुकुम पश्चिममा सामान्य विवाद तथा परम्परागत सोचले ज्यानै मार्ने प्रकृतिका जघन्य अपराध बढ्दै गएको पाईएको छ ।
मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको औनपचारीक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकले यी दुई जिल्लामा सामाजिक बिग्रहका घटनाहरु बढ्दै गएको पुष्टि गर्दछ । जसको सिकार महिलाहरु हुँदै गएका छन् । गत वर्ष रुकुम पश्चिममा दुई महिला र तीन पुरुष गरी पाँच जनाको हत्या भएको इन्सेकको तथ्यांक बोल्छ । यस्तै, सल्यानमा गत वर्ष ११ जनाको हत्या भएको छ ।
मानिसहरू सानोसानो कुरामा पनि आइपर्ने परिस्थितीको आँकलन गर्न नसक्दा आवेगमा आएर गरिने क्रियाकलापले समाज अराजकतातर्फ धकिलिदै गएको प्रति बेलैमा सचेत रहनुपर्ने सरोकारवाला बताउँछन् ।
बढ्दो वेरोेजगारी, एकात्मक परिवार, आर्थिक, सामाजिक, राजनीतिक तथा शिक्षा, अनैतिक सम्बन्ध, व्यक्तिगत रिसिबी, मानसिक समस्या आदि जस्ता कारणले यस्ता घटनामा बृद्धि हुँदै जान थालेको प्रहरीको तथ्यांकले देखाउँछ ।
राज्यले नै दण्डहिनतालाई प्रसय गर्दैछ ः सुवेदी
समाजमा दण्डहिनतालाई निर्मुल पार्नुको साटो उल्टै राज्यले नै विभिन्न कारण देखाएर दण्डहिनतालाई प्रसय दिइरहेको मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुवेदी बताउँछन् ।
‘कतिपय घटनामा सरकारले विभिन्न बहानामा आममाफि दिने परिपालना गरिहरहेको छ नि यसले अपराध गर्ने मान्छेलाई सपोर्ट गरेको जस्तो भइरहेको छ,’ उनी भन्छन्, ‘अपराध गर्नेहरुको पारिवारिक र सामाजिक समस्या एउटा हुनसक्छ, अर्कोतर्फ आर्थिक अवस्था कमजोर र घरायसी समस्याका कारण पनि द्वन्द्व बढ्दै गएको अवस्था हो ।’
राज्यले मानवअधिकारकका क्षेत्रमा संविधानले गरेका व्यवस्थाहरु परिपालनामा ध्यान नदिदा बिस्तारै समाज द्वन्द्वतिर अग्रसर हुँदै गएको उनले बताए । समाजमा अराजकता बढ्नुको अर्को कारण मनोसामाजिक समस्या पनि प्रमुख रहेको सुवेदी बताउँछन् ।
‘समाजमा अराजकता बढ्नुमा मनोसामाजिक समस्या पनि प्रमुख रहेको हामीले अध्यनका क्रममा पाएका छौं,’ सवेदीले भने, ‘विभिन्न कारणले देखा परेको मनोसामाजिक समस्यालाई हल गर्न राज्यले काउन्सेलिङको पाटोलाई बृहत्तर बनाउनु पर्ने देखिन्छ, हत्या लगायतका जघन्य अपराधमा संलग्नलाई चलखेल गरेर अदालतबाट छुट दिदा हिन्सात्मक घटनाले बढवा पाइरहेका छन्, यसमा राज्य सचेत हुनु पर्छ, साथै परिवारिक द्वन्द्व न्यूनिकरण गर्न जनचेतनाको पाटोलाई बलियो बनाउन आवश्यक छ ।’
मनोपरामर्श आवश्यक छ ः मनोविद रावत
समाजमा हत्या जस्ता जघन्य अपराधहरु मनोवैज्ञानिक पाटोसँग जोडिएर आउने बताउँछन् कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका मनोविद पुर्ण रावत । मान्छेभित्र रहेको नकरात्मक भावले हत्या नै गरिहाल्नु पर्ने परिस्थिती निम्तनु सामाजिकरुपमा ठुलो बिग्रह रहेको उनले बताए ।
‘गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता लगायतका कारण मानिस फ्रस्टेसनमा जानुले मानसिक रोग जन्मन्छ,’ रावत भन्छन्, ‘अहिले थुप्रैमा एन्टी सोसियल पर्सानलिटी भन्ने रोग देखिएको छ, जुन रोग लागेका विरामी सधैं अपराधिक गतिविधिमा उद्दत भइरहन्छन, राज्यसहित समाजका हरेक तह, तप्काले यस विषयमा सोच्नु जरुरी छ, किनभने मानसिक रुपमा अस्वस्थ व्यक्ति नै अपराध संलग्न हुने हो ।’
निराशाले मानिसलाई मादक पदार्थको लत बस्नुले बलात्कार र हत्या जस्ता जघन्य प्रकृतिका घटनाहरु बढिरहेको उल्लेख गर्दै मनोविद रावतले राज्य तथा समाजले बेलैमा मनोस्वास्थ्यका क्षेत्रमा परामर्शको पाटोलाई बलियो बनाउन आवश्यक रहेको बताए ।