काठमाडौँ — काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका हुन् ।
क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदिप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै काठमाडौं, २, ६, ७, ८ मा स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी भए । २०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेसले ४ वटा क्षेत्रमा मात्रै सफलता प्राप्त गरेको थियो । २०७४ मा १ देखि १० सम्म क्रमश: प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगन थापा, ईश्वर पोखरेल भिमसेन दास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र केसी निर्वाचित भएका थिए। नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए । यसपटकको निर्वाचनमा तीमध्ये सिंह, थापा, कृष्णगोपाल श्रेष्ठ र केसी पुन:निर्वाचित भएका हुन् ।
यसपटक क्षेत्र नम्बर १ मा सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बने । मिश्रले ७ हजार १८ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले एमाले उम्मेदवार मणिराम फुयाललाई हराएकी छन् । उनले १५ हजार २ सय २९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । पूर्व सांसद राईलाई हराउँदै क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे विजयी भए । चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गर्दा राईले ११ हजार १ सय ९६ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ४ मा गगन थापाले २०७४ कै प्रतिस्पर्धी राजन भट्टराईलाई हराएका हुन् । थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल एमाले नेता ईश्वर पोखरेललाई हराउन सफल भए । उनले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मत ल्याए ।
काठमाडौं क्षेत्र नम्बर ६ मा एमाले उम्मेदवार एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हराउँदै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी बनेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत प्राप्त गर्दा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत मात्रै प्राप्त गरे । उक्त क्षेत्रका पूर्वसांसद प्रधानले ८ हजार ८ सय ५ मत मात्रै प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ७ मा पनि स्वतन्त्र पार्टीले जित निकालेको छ । पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत मात्रै पाएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका पूर्वसांसद मानन्धरले ७ सय ५३ मत मात्रै प्राप्त गरे ।
क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई करिब दोब्बर मतान्तरले पराजित गर्दै विराजभक्तले जित निकालेका हुन् । उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार तेस्रो र एमाले उम्मेदवार चौथो भएका छन् । उक्त क्षेत्रका पूर्वसांसद जीवनराम श्रेष्ठले ४ हजार ८ सय ७७ मत मात्रै ल्याए । उनी सत्ता गठबन्धनतर्फका उम्मेदवार थिए । काठमाडौं ९ मा एमाले उम्मेदवार तथा पूर्व सांसद श्रेष्ठ ११ हजार ९ सय ५६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त पाएका छन् ।
काठमाडौं १० मा भने एमाले उम्मेदवार हिमेश केसीलाई पराजित गर्दै राजेन्द्र विजयी बनेका छन् । उनले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा हिमेशले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।