काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए ।
विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।
दुर्घटनामा परे विमान व्यवस्थापन समूहका ५ जना
सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।
पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए ।
विमान क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।
विमानमा सवार १८ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले रातोपाटीलाई बताए । विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको डीआईजी कार्कीले बताए ।
पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।
बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।
अवलोकनका लागि प्रधानमन्त्री ओली पुगे विमानस्थल
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगे छन् । उनी विमानस्थल पुगेर नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग छलफल गरेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।