सिमकोट । सवै खाले आन्दोलनका क्रममा आफ्नो ज्यानको आहोती दिने शहिदको सम्झनामा हुम्लामा दिपावली गरिएको छ । बुधबार शहिद दिवसको अवसरमा सदरमुकाम सिमकोटमा बेलुका छ वजे लोकतन्त्र चोकमा दिपावली गरेर शहिद दिवस मनाईएको हो ।
संघीयता कार्यान्वयन भएयता जिल्लामा शहित दिवस नमनाई रहेको अवस्थामा यस पटक भने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अगुवाईमा शहित दिवस मनाउने कार्य भएको छ ।बुधबार बेलुका छ बजे एयरपोर्ट चोकबाट काठेचुली चोक हुँदै लोकतन्त्र चोकसम्म मौन र्याली निकाल्दै दिपावली गरिएको छ । महान शहिदलाई सम्झने क्रममा यो कार्यक्रम आयोजना गरिएको प्रजिअ पाण्डेले बताए ।
र्याली र दिपावली कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, नेकपा एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत, पत्रकार महासंघका अध्यक्ष राजन रावत लगाएको सहभागीता रहेको थियो । साँझ सरकारी कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ । आजको दिननेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उठाउने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गर्ने गरिन्छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए । उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान सरकारले यसै दिवसमा गर्ने गरीरहेको छ ।