जिल्लाको तल्लो क्षेत्रमा पहिलो पटक एकिकृत सरकारी सेवा शिबिर सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको सकृयतामा फागुन २७ र २८ गतेका दिन दक्षिणी क्षेत्रका ४ वटा स्थानीय तहलाई केन्द्रीत गरी निःशुल्क एकिकृत सरकारी सेवा शिबिर सञ्चालन गर्नको लागि जिल्ला स्थीत कार्यालय प्रमुख सहितको टोली अदानचुली गाउँपालिकामा पुगेको छ ।
फागुन ५ गते जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जिल्लाको तल्लो क्षेत्रमा जिल्लाका ४ वटा कार्यालयबाट २२ वटा सेवाहरु निःशुल्क दिने गरी शिविर सञ्चालन गर्ने निर्णय भए अनुसार आफुहरुको टोली अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो ।
गतवर्षहरुमा स्वास्थ्य सम्बन्धी मात्रै सेवा हुँने गरेको यस क्षेत्रमा पहिलो पटक जनस्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, प्राइभेट र साझेदारी फर्म दर्ता तथा नविकरण सँगै पशुहरुको औषधी बितरण, परामर्श सँगै एन्टिरेविज खोपको समेत निःशुल्क शिविर सञ्चालन हुँने भएको बताउनु भयो ।
सात वटा गाउँपालिका भएको हुम्ला जिल्लाका तल्लो क्षेत्र अदानचुली, ताँजाकोट, चैखेली र सर्केगाड गाउँपालिकाबाट जिल्ला सदरमुकाम जान निकै टाढा हुँने भएकाले प्राइभेट र साझेदारी फर्म दर्ता, नविकरण, पुँजी वृद्धि र प्रतिलिपि लिन निकै समस्या झेलीरहेका यहाँका नागरीकलाई सहज हुँने भएको अदानचुली अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको भनाई छ । उहाँका अनुसार आफुले प्रमुख जिल्ला अधिकारीलाई यस किसिमको शिविर गर्न अनुरोध गरेको र सोही अनुसार प्रमुख जिल्ला अधिकारीले यसको पहल गरी शिविर सञ्चालन हुँन लागेको बताउनु भयो ।
मंगलबार र बुधबार गरी दुई दिन सम्म सञ्चालन हुँन लागेको एकिकृत शिविरमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरीने नागरीता, राष्ट्रिय परिचय पत्र, मालपोत र नापीका काम बाहेक अन्य २२ वटा सेवाहरु एकै साथ सञ्चालन गर्न लागेको हो ।
विशेषज्ञ चिकित्सक द्धारा निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क औषधी वितरण, भ्यासेक्टोमी सेवा, सामान्य प्रयोगशाला सेवा, दत्त चिकित्सक द्धारा दन्त चिकित्सक सेवा, नसर्ने रोगको स्क्रिनिङ्ग र पाठेघरको मुखको क्यान्सर परिक्षण पनि गरिने भएको छ ।
यसैगरी आयुर्वेद चिकित्सकतथा स्वास्थ्यकर्मी द्धारा स्वास्थ्य परिक्षण, निशुल्क औषधी वितरण, परामर्श सेवा, स्तनपायी आमाहरुका लागि स्तन्यवद्र्धक औषधी वितरण, जेष्ठ नागरीकहरुका लागि रसायन औषधी वितरण र रागनका विरामीहरुका लागि तेल वितरण पनि गरीने भएको छ । यि सबै सेवाहरु निःशुल्क गरीने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो ।