निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ ।
आयोगका अनुसार आज बिहान १० देखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने दिउँसो १२ देखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा भोलिसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ ।
दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी पर्सि अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । शनिवार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।
निर्वाचन आउँदो २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ ।
सङ्घीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन क्षेत्र नं २ मा रिक्त छ भने मनाङ क्षेत्र नं १ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली क्षेत्र नं २ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् । राष्ट्रिय सभामा ५९ सांसद जना छन् । आयोगले यसअघि नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने जनाइसकेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान नहुने भएको छ । निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने भएकाले विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग गर्न सकिने सम्भावना थियो ।
तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो उपकरण काम लाग्ने अवस्थामा नरहेको र नेपालीले बनाएको उपकरण प्रमाणीकरण नभएको भन्दै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा इभीएमको प्रयोग नहुने सङ्केत गर्नुभयो । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।