काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् ।
बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठवटै दलले सहमति जनाएका थिए ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका
प्रकाश ज्वालाले बैठकमा एकमात्र एउटा एजेण्डा रहेको र त्यसमा राष्ट्रपतिमा संसद्को ठुलो दल कांग्रेसलाई समर्थन गरौँ भनेर प्रस्ताव ल्याएको बताए । ‘प्रधानमन्त्रीको त्यो प्रस्तावमा आठवटै दलले समर्थन गर्ने, सहयोग गर्ने टुंगो लागेको छ’, नेता ज्वालाले भने, ‘व्यक्तिका हकमा कांग्रेसले निर्णय गर्छ ।’
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउ, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई आग्रह गरेको ज्वालाले जानकारी दिए ।