नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पौडेल र नेम्बाङले उम्मेद्वारी दर्ता गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित ५ जना प्रस्तावक र योगेश भट्राईसहित ५ जना समर्थनमा नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उम्मेदवारी दिनका लागि एमाले अध्यक्ष ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ, एमाले सचिव भट्टराई, जुली महतो कार्यालय पुगेका थिए । यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसैगरी पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । काँग्रेसले आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
दाहालले भोट हाल्ने ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई भोट हाल्ने दाबी गर्नुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भएपनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले पनि आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताउनुभएको छ । नेकपा एमालेका तर्फवाट राष्ट्रपतिको उम्मेद्वारसमेत रहनुभएको नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताउनुभयो ।
त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उहाले आफ्नो नाममा राष्ट्रिय सहमति हुनसक्छ विश्वाश व्यक्त गर्नुभयो । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली काँंग्रेसबाहेक सबै दलसँग संवाद गर्ने निर्णय समेत गरिसकेको छ ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका अध्यक्ष ओलीको पत्राचार
यसैबीच, नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्नुभएको छ ।
आज लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य भएको र नेम्वाङ् नै उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ । आज विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।