स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
आज निर्वाचनमा भाग लिने विद्यार्थी सङ्घसङ्गठनको दर्ता सुरु गर्ने कार्यतालिका छ । चैत ५ गते हुने निर्वाचनका लागि आज त्रिविको सम्बन्धन प्राप्त ६२ क्याम्पससहित स्ववियु निर्वाचन गराउने सामुदायिक क्याम्पसमा सङ्घ–सङ्गठन दर्ता गरी निर्वाचन प्रक्रिया सुरू हुने निर्वाचन समितिले जनाएको छ ।
कार्यतालिकाअनुसार पर्सि आइतबार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दर्ता गर्ने कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।
कार्यतालिकाअनुसार फागुन २९ गते दिउँसो २ देखि चैत २ गते राती १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको छ । निर्वाचनमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन् । उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य भने समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
स्ववियु कार्यसमितिमा २ सय विद्यार्थी बराबर ११ सदस्यीय, २ सय एकदेखि १ हजारसम्म विद्यार्थी भए १३ जना, १ हजार १ देखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार एकदेखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित रूपमा हुनसकेको छैन ।