हुम्ला – सर्केगाड गाउँपालिका स्थित वडा नं. ३ उनपानीमा जस्ता पाता सहितको ३ वटा पानी घट्ट निर्माण भएका छन् । पहिले पराल तथा काटले छानो छापियको हुँदा बर्खा सिजनमा पानी चुहावट भएर जनमानसलाई गाह्रो हुने उनपानीका वडा अध्यक्ष अकिल बहादुर कार्कीले बताउनु भयो। अध्यक्ष कार्कीको पहलमा पुरानो काम नलाग्ने भवनको जस्ता पाताको सदुपयोग गरि ३ वटा पानी घट्ट निर्माण भएका छन्। सानो तिनो कामको लागि गाउँपालिकालाई नै घचघच्याउनु हुँदैन, हाम्रै वर पर भएका पुरान तथा काम नलाग्ने सामानबाट केही नंया गर्न सकिने अध्यक्ष कार्कीले कचहरी मिडियालाई बताउनुभयो ।
प्रविधिको विकाससँगै हुम्लामा बिजुलीबत्ती पुगेका केही ठाउँमा पानीबाट चल्ने घट्ट विस्थापित भएपनि नपुगेका ठाउँमा अझै परम्परागत पानी घट्ट नै लोकप्रिय छन्।
पानी घट्ट चलाउँदै आइरहेका सर्केगाड गाउँपालिका स्थित उनापानीका भ्याल बिक घट्ट चलाएर गुजारा चलाउने गर्छन्। ‘हाम्रो जस्तो बिजुलीबत्ती नपुगेको ठाउँमा यसको प्रचलन उत्तिकै लोकप्रिय छ’ बिकले भने, ‘दिनभर मकै, कोदो लगायतको अन्न पिस्ने गर्छु, यसैले नै जीविका धानिरहेको छ।’ परापूर्वकालदेखि नै घट्टबाटनै पिसेको अन्नले दैनिक भान्सा पाक्ने गरेको बिक बताउँछन्।
जिल्लाका अधिकांश ठाउँमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगेको छैन। पुगेका ठाउँहरूमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनीका आधुनिक मिल छैन। यसले गर्दा अझै पनि पानी घट्टमा नै आश्रित हुनु परेको छ। बढ्दो आधुनिकतासँगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि बिजुलीबत्ति नपुगेका गाउँबस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन। स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन्। दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, मकै पिस्ने गरेको स्थानीयवासीको भनाई छ।
सहर–बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो छ। धान, चिउरा, पिठो पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुन्छ। ग्रामीण क्षेत्रमा भने पानीघट्ट नै लोकप्रिय छ। विद्युत विस्तार भएका गाउँका स्थानीय बासिन्दा पानीघट्टकै प्रयोग गर्छन्। ‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ’ ।
अहिले जस्ता पाताले छापेको पानी घट्टमा राती पनि पिठो पिस्ने गरेको लेख बासिन्दा प्रेम फडेराले बताए । उनले पुन थपे हामी सिङ्गो उनापानी बासिनै खुशी रहेको जनकारी गराए ।