सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा नेकपा माओवादी केन्द्र ताँजाकोट हुम्लाका अध्यक्ष अकविर खड्काको घटना स्थलमै मृत्यु भएको छ ।
शनिबार साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको बुलबुले गेट नजिकै खड्का सवार मोटरसाईकल जीपमा ठोक्कीएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
माओवादी नेता खड्का सवार कर्णाली प्रदेश ०२००१ प ७८७४ र सोही दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जीपमा ठोक्किएपछि उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा भएको कोठाबाट साँझ बाहिर निस्केका खड्कालाई दुर्घटना भएपछि प्रहरीले शुरुमा माया नरसिङ्ग होम र पछि कर्णाली प्रदेश अस्पताल कालागाउँमा लगेको बताइएको छ । उपचारका लागि भन्दै खड्कालाई कालागाउँ स्थित प्रदेश अस्पतालमा लगेपछि मृत घोषणा गरिएको ट्राफिक प्रहरी सुर्खेत प्रहरीले जनाएको छ । वेलुका तान्ततार आफन्तले फोन गर्दा खड्काको फोन नउठेपछि आफन्तले सबैतिर खबर गर्दा दुर्घटनाका बारेमा राती ९ बजेतिर थाहा भएको बताइएको छ ।
‘दुर्घटनामा परेका खड्काको फोन आप्mनो हातमा परेपछि मात्रै आएका फोन उठाएर जानकारी दिइएको हो,’ खड्कालाई अस्पताल लिने काममा संलग्न ट्राफिक प्रहरी स्रोतले नेपालवोटसँग भन्यो, ‘पछि फोन उठाएर दुर्घटनामा परेर मृत्यु भएको खबर गरेपछि अनि मात्रै निजका आफन्त र अरुले यसका (दुर्घटना) बारेमा जानकारी पाएका हुन् ।’
आफन्त आन्दोलित: वार्ता निष्कर्ष बिहिन
शनिबार राती बाइक दुर्घटनामा भएको खड्काको मृत्युको विषयलाई लिएर उनका आफन्तले आन्दोलन शुरु गरेका छन् ।
ताँजाकोट गाउँपालिका–१ हुम्लाका माओवादी नेता अकबिर खड्काका आफन्तले घटनाको छानविन, दोषीलाई हदैसम्मको कारबाही र आश्रीत परिवारलाई उचित क्षतीपूर्तिको माग गर्दै आइतबार सुर्खेतमा आन्दोलन गरेको छन् ।
मृतकका आफन्तले आइतबार दिउँसो वीरेन्द्रनगरको बसपार्क अगाडि र एयरपोर्ट चोकमा टायर बालेर घटनाको बिरोध जनाएका छन् । आन्दोलनमा उत्रिएको भिडले आक्रोस व्यत्तः गरेपछि प्रहरी केही समय बल प्रयोग गर्नु परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलन भैरहेकै बेला पीडित पक्ष र प्रहरी बीच जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वार्ता भएपनि वार्ता नटुंगिएको ताँजकोट गाउँपालिकाका पुर्व अध्यक्ष बागदल मल्ले जानकारी दिए । पिडित पक्षले घटनमा संलग्नकाबाट पिडितलाई १५ देखि २० लाख राहत दिनुपर्ने, पीडितलाई कारबाही गर्नु पर्ने माग अघि सारेको छ । तर अर्को पक्ष मागमा तयार नभएपछि वार्ता निष्कर्ष बिहिन भएको बताइएको छ । स्थानीय प्रशासनसँग पनि गाडी धनीले कानूनअनुसार पाँच लाख रुपैयाँ क्षतीपूर्ति मात्र दिन सकिने अडान राखेका पछि सहमती जुट्न नसकेको हो । वार्ता फेरी सोमबार बस्ने गरी टुंगिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका खड्काको शब कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको आफन्तले बताएका छन् ।