सुर्खेत । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले कार्यक्रम प्रदेश सभा बैठकमार्फत सार्वजनिक गरेका हुन्। उक्त नीति तथा कार्यक्रम अन्तरगत कर्णाली प्रदेश सरकारले १० हजार नागरिकलाई रोजगारी दिने योजना अगाडी सारेको छ।
यस्तै, कर्णाली प्रदेशमा तीन तारे होटल निर्माण गर्नेलाई सरकारले सहयोग गर्ने, कर्णालीमा हवाई उडानलाई नियमित बनाउने, सुर्खेत विमानस्थलको स्तोरउन्नितका लागि संघ सरकार सँग सहकार्य गने, कर्णालीका हिमालहरु आरोहणका लागि खुल्ला राख्ने, खस राज्य सिँजा क्षेत्रलाई व्यवस्थति बनाउने, जाजरकोट र दुल्लुको दरवारलाई संरक्षण गर्ने लागायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
कृषि तथा पशु प्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ, र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ।
यस्तै उत्पादनमुखी कृषकलाई प्रोत्साहन भन्ने मूल्यका साथ परिणाम तथा नतिजामा आधारित उत्पादन, सङ्कलन, ढुवानी र बजारीकरणमा सहयोग गरिनेछ । उद्योग स्थापनाका लागि लागत र परिणामको आधारमा स्थानीय तह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
माछा, मासु, दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि तथा पशुपक्षी बीमालाई थप प्रभावकारी बनाइने छ भने बैङ्क तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख परियारले बताए।
सुर्खेतस्थित पशुपक्षी अस्पताललाई प्रदेश स्तरको लिबरल अस्पतालको रूपमा विकास गर्न सङ्घसँग समन्वयन गरिनेछ। वैदेशिक रोजगारबाट फर्किएकालाई ज्ञान, सिप प्रविधि र वित्तीय पहुँचसहितको कार्यक्रममा प्रोत्साहन गरिने उल्लेख छ । कृषकलाई परिचय पत्र वितरण गरिने नीति तथा कार्यक्रम रहेको छ।
सहिद घाइते परिवारलाई कृषिमा आकर्षित गर्न बिउ वितरण गरिनेछ। भू–उपयोग गुरुयोजना कार्यान्वयनमा ल्याइनेछ। उत्पादनमूलक सहकारी प्रवर्द्धनमा विशेष जोड दिइने उल्लेख छ । मझौला तथा साना उद्योगलाई व्याज अनुदान कार्यक्रम निरन्तरता दिनुका साथै छिन्चुदेखि मेहेलकुना क्षेत्रलाई औद्योगिक कोरिडोर निर्माण गरिने जनाइएको छ।