कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाउनु भएको छ । निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरण अनुसार उहँले निर्वाचनमा १८ लाख ८९ हजार खर्च गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार जनकबहादुर शाहीका अनुसार मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसारमा ६ लाख ७९ हजार, गोष्ठि तथा अन्तरक्रियामा एक लाख २० हजार खर्च भएको छ । त्यसैगरी, प्रतिनिधि व्यवस्थापनमा ५ लाख १० हजार, कार्यालय सञ्चालनमा ८० हजार र सवारी साधन आवतजावतमा ४ लाख ८० हजार गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको बताइएको छ । मुख्यमन्त्री शाही हुम्लाको प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेदवार रहनु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले खर्च विवरण बुझाइ सकेका छन् । प्रतिनिधिसभा सदस्यकै उम्मेदवार छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाउनु भएको छैन् ।
यता, प्रदेश १ बाट राप्रपाका छापे ऐडी र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्चको विवरण बुझाइ सकेका छन भने गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र एमालेका दल फडेराले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ ।
यस्तैगरी प्रदेश २ तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका विकास बहादुर महत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामा सहित नौ जनाले खर्च विवरण बुझाईसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समय दिइएको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताउनु भयो ।