मुगु सदरमुकाम गमगढी र हुम्लाको चंखेली गाउँपालिका सडक सञ्जालमा जोडीको छ । लामो समय देखी निमार्णधिन अवस्थामा रहेको बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई पुष २९ गते हस्तान्तरण गरेको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुुर शाहीको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
सडक निर्माणका लागि एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागतमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । कुल निर्माण भएको सडक मध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकमा चार वटा पक्की पुल निर्माण गरिएका छन् ।
सन् २०१८ को अक्टोबर महिनाबाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सय स्थानीय श्रमिकलाई रोजगारी दिइएको र निर्माणकार्यमा जुट्नुु भएका कुल श्रमशक्तिको ३५ प्रतिशत भन्दा बढी महिला सहभागी भएको जानकारी गरिएको थियो । उक्त सडक निर्माणकार्यका लागि खटिनुुभएका महिला कामदारलाई पनि पुरुष सरह ज्याला दिएर काममा लगाइएको थियो । सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनु भएको थियो ।
पूर्वाधार विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुुख पन्नासिंह बोहराले गमगढी देउली लिङ्क सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्य भएको बताउनुु भयो । कर्णालीका मुख्यमन्त्री शाही र बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा सो सडक ग्रामीण पहुँच कार्यक्रमले (र्याप थ्री) निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।
सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गर्नुहुँदै हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडेको बताउनुभयो ।
कार्यक्रममा बेलायती राजदूत पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेको बताउनुुभयो । उहाँले बेलायत सरकारको मुख्य कार्यक्रम ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत चार दशमलव पाँच मिटर चौडा लिंक सडकको निर्माणले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापना गर्न सहयोग पुुगेको बताउनुुभयो ।
राजदूत पोलिटले बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक भएको बताउनुु भयो । उहाँले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधा लगायतमा महत्त्वपूर्ण क्षेत्रमा परिवर्तन आएको जानकारी दिनुुभयो ।
गमगढीबाट चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किमी सडक निर्माण सम्पन्न भएसँगै त्यस भेगका बासिन्दाको गाडी चढ्ने सपना पूरा भएको छ । सडक पहुँच नहुँदा चंखेली गाउँपालिका र आसपासका बासिन्दा गमगढीस्थित ताल्चा विमानस्थल आउन कष्टकर पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।