बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?)
यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन खोज्छन्, सम्झाउँछन् र उनलाई सुताउने प्रयास गर्छन् ।
७० वर्षीया हजुरआमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वती पनि अचेत छन् । जेठी बहिनी सुनिता र कान्छी आरतीको आँसु सुकिसकेको छ ।
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही २५ वर्षीय आनन्द साह पनि परेको खबरसँगै घरका सदस्य मुर्छित छन् । रातिदेखि आफन्त र छरछिमेकी जम्मा भएर सोमनको परिवारलाई सान्त्वना दिइरहेका छन् । तर सम्झाएर कहाँ सम्झिन्छ र मन ।
तीन छोरी र एक छोरामध्ये पहिलो सन्तान थिए आनन्द । आनन्दलाई पढाउन सोमनले १० वर्ष खाडीमा पसिना बगाए । छिमेकी काका मिथिलेश साहका अनुसार आनन्दले जनकपुरकै एन्जल्स बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका थिए ।
जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लस–टु पास गरी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा एग्रिकल्चरमा बीएससीएजी पढे । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । आनन्द २८ भदौमा मात्र इजरायल गएका थिए ।
घरमा दैनिक कुराकानी गर्ने गरेका थिए । परिवारका सदस्यहरुसँग अन्तिम कुराकानी गत शुक्रबार राति ८ बजेतिर भएको थियो । आनन्दले भिडियो कल गर्दा बुबा सोमन बाहिर थिए । आमा र बहिनीहरुसँग लामै कुराकानी भएको थियो । माहिली बहिनी सरस्वतीले आफ्नो खुट्टा अलि सुन्निएको बताएपछि आनन्दले राम्रो डाक्टरलाई देखाएर उपचार गराइदिन आमालाई भनेका थिए । बुबासित पछि कुरा गर्ने भनी फोन राखेको काका मिथिलेशले सुनाए ।
शनिबार इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि घरपरिवार बेचैन भयो । परिवारका सदस्यले आइतबार अबेरसम्म आनन्दलाई फोन गरिरहे । ‘मोबाइलमा रिङ जान्थ्यो, तर फोन उठेन’ आनन्दको दाइ पर्ने रामईश्वर साहले सुनाए । आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित परिवारको कुरा भइरहेको थियो ।
तर आनन्दलाई भने पटक–पटक कल गर्दा पनि फोन नउठेपछि परिवारका सदस्यहरु आत्तिए । दाइ रामईश्वरका अनुसार रिमाले नै आइतबार बिहान ५ बजेतिर आनन्दको मृत्यु भएको आशयका साथ फोन गरेकी थिइन् । तर आनन्दको परिवारलाई घाइते भएकाले उपचार हुँदै छ भनेर मात्र भन्न आग्रह गरेकी थिइन् ।
साँझ मृतक र घाइतेको विवरण सार्वजनिक भएपछि परिवारको धैर्यताको बाँध टुटेको छ ।
इजरायल जानु अघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी थिइन् । ‘म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्र्याउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,’ हजुरआमा–नाति बीचको सम्वाद सुनेका काका मिथिलेशले भने ।
एक करोड विरुवा रोप्ने सपना
आनन्दमा समाजसेवी भावना थियो । उनी प्रकृति प्रेमी थिए । समाजसेवाका लागि भविश्यमा अक्सिजन उद्योग, सुविधासम्पन्न अस्पताल खोलेर समाजको सेवा गर्ने उनको धोको थियो ।
काका मिथिलेशका अनुसार रमदैयाको जानकी मेडिकल कलेज नजिक बुबा सोमनले पाँच कठ्ठा जति जग्गा जोडेका छन् । त्यहाँ अझै जग्गा थपेर भविश्यमा सुविधासम्पन्न अस्पताल बनाउने योजना उनले सुनाउथे ।
यही कुरा लेखेर उनले सामाजिक सन्जाल फेसबुकको कभर फोटो पनि बनाएका छन् । चैत २०७८ मा बुद्धजयन्तीको दिन मातृभाषा मैथिली र अंग्रेजीमा लेखेको संकल्पमा उनले आफ्नो जीवनमा एक करोड विरुवा रोप्ने, अक्सिजन फ्याक्ट्री र सुविधासम्पन्न हस्पिटल खोल्ने प्रतिज्ञा गरेका थिए ।
तर अब आनन्दको त्यो सपना अधुरै रहने भयो ।