इतिहासका हरेक कालखण्डमा भएका विद्यार्थी आन्दोलनहरुको नेतृृत्व अनेरास्वयवियूले गर्दै आइरहेको छ । आम विद्यार्थीहरुप्रतिको जिम्मेवारी, राष्ट्रियता, जनजीविका र विद्यार्थी वर्गको हकहित र अधिकार प्राप्तीको संघर्षमा जहिल्यै आफूलाई अग्रमोर्चामा उभ्याएर अनेरास्ववियूले आफूलाई ‘सडक बाघ’ को रुपमा स्थापित गरेको छ ।
०६२–०६३ को दोश्रो जनआन्दोलनको सफलता र ०७२ मा संविधान निर्माणपछि मुलुक स्थिरता र समृदितर्फ अगाडि बढेको छ । राजनैतिक अधिकार प्राप्तीका लागि अब नेपाली नागरिकले संघर्ष गर्नुपर्ने आवश्यकता छैन् । त्यसैले अनेरास्ववियु पनि अब शैक्षिक अन्दोलनमा केन्द्रित हुनुपर्छ । हुन त विद्यार्थी आन्दोलन शैक्षिक मुद्दा र जनजीविकाको सवालमा जहिल्यै प्रतिपक्षी भूमिकामा रहनु पर्ने हो । तर, नेपाली विद्यार्थी आन्दोलनले कहिल्यै एकमत भएर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन ।
वर्तमान अवस्थामा पनि विद्यार्थी संगठनहरु एक भएर शैक्षिक रुपान्तरणका लागि संघर्ष गर्नुपर्ने अवस्थामा सरकारको विरोध र बचाउमा आफ्नो संघठनको समय बर्बाद बनाउँदै गएका छन् । अहिले नेपालको विद्यार्थी आन्दोलन एउटा गोलचक्करमा फसेको छ । यो गोल चक्करबाट नेपाली विद्यार्थी आन्दोलनलाई निश्चित दिशामा डोर्याउन अनेरास्ववियूले भूमिका खेल्नु आवश्यक छ ।
नेपाली विद्यार्थी आन्दोलनलाई सहि दिशामा ल्याएर शैक्षिक आन्दोलनलाई उत्कर्षमा पुर्याउन अनेरास्ववियूले निम्न कार्यभारको जिम्मेवारी वहन गर्नुपर्ने अनिवार्यता छ :
१)शैक्षिक र सांंगठनिक मुद्दामा संगठनलाई स्वतन्त्र बनाउने ।
अनेरास्ववियू आफैमा एक स्वतन्त्र संगठन हो । विचार र आस्थाका हिसावले अनेरास्ववियू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) निकट छ । त्यसैले राजनैतिक रुपमा यसले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को कार्यदिशा अनुसार कार्य गर्नुपर्छ तर, सांगठनिक गतिविधि र शैक्षिक मुद्दाहरुमा स्वतन्त्र छ । तर व्यवहारिक रुपमा स्वतन्त्र हुन सकेको छैन् । सांगठनिक संरचना र शैक्षिक मुद्दाहरुमा अनेरास्ववियूले आफूलाई पार्टी हस्तक्षेपबाट मुक्त गराउनु पर्छ । र, आफ्ना सांगठनिक र शैक्षिक गतिविधि स्वतन्त्र ढङ्गले अगाडि बढाउनु पर्छ र संगठनहरुको नामको स्वतन्त्र भन्ने शब्दलाई सार्थकता दिन सक्नु पर्दछ ।
२)दुई किसिमको शैक्षिक उत्पादन बन्द गराउने
नेपालको वर्तमान शिक्षा प्रणालीले हाल दुई किसिमको शैक्षिक जनशक्ति उत्पादन गरिरहेको छ । शिक्षामा रहेको वर्गीय विभेदले फरक शैक्षिक उत्पादन गरिरहेको छ । हुने खाने वर्गका छोराछोरीहरु महँगो शैक्षिक शुल्क तिरेर निजी शिक्षण संस्थाबाट गुणस्तरीय शिक्षा हासिल गरी विकसित मुलुकमा पलायन भइरहेका छन् भने हुँदा खानेका छोराछोरी सामुदायिक शिक्षण संस्थाबाट शैक्षिक बेरोजगार बनेर खाडी राष्ट्रमा श्रम बेच्न बाध्य छन् । नेपालको वर्तमान राज्य व्यवस्थाले खुल्ला अर्थनीति अवलम्वन गरेकाले निजी शिक्षण संस्थामाथि अंकुश लगाउन सक्रिदैन । यो समस्याको समाधान निजी शैक्षिक संस्था बन्द गरेर वा निजी क्षेत्रलाई गाली गरेर हुँदैन । यसका लागि सर्वप्रथम शिक्षा ऐन संशोधन गरेर सामुदायिक शिक्षण संस्थाको गुणस्तर वृद्धि गर्नु र निजी शिक्षण संस्थाको सामाजिकीकरण गरी दक्ष र सामाजिक जनशक्ति उत्पादन गरी नेपालको विकासमा योगदानको इँटा थप्ने कार्यमा अनेरास्ववियूले पहलकदमी गर्नु पर्दछ ।
३)अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन
नेपालको संविधान २०७२ ले शिक्षालाई नैसर्गिक अधिकारको रुपमा व्याख्या गरेको छ । माध्यमिक शिक्षासम्म निःशुल्क व्यवस्था गरेको छ । तर, पनि नेपालका धेरै बालबालिकहरु अहिले पनि विद्यालय भन्दा बाहिर रहेका छन् । जबसम्म शिक्षालाई अनिवार्य गरिंदैन तबसम्म निःशुल्क शिक्षा प्रभावकारी हुँदैन । त्यसैले उच्च माध्यामिक तहसम्म शिक्षालाई निःशुल्क र अनिवार्य बनाउन अनेरास्ववियुले सरकारलाई दबाब दिनु पर्छ ।
४)अन्य विद्यार्थी संगठनसँग सांगठनिक र कार्यगत एकता
विगतदेखि नै मुलुकको शैक्षिक र राजनैतिक रुपान्तरणका लागि भएका संघर्षहरुमा अन्य विद्यार्थी संगठनहरुलाई पनि गोलबन्द गरी अनेरास्ववियूको नेतृत्वमा आन्दोलनको मोर्चामा होमिएका थिए । तर आज विद्यार्थी संगठनहरुमा विभाजन आएकाले शैक्षिक आन्दोलन आशातित ढङ्गले सञ्चालन हुन सकेको छैन । त्यसैले शैक्षिक रुपान्तरणका लागि वृहत विद्यार्थी एकता हुन जरुरी छ । यसको पहलकदमी अनेरास्ववियूले गर्नु पर्दछ । विचार मिल्ने संगठनहरुसँग सांगठनिक एकता र मुद्दा मिल्ने संगठनहरुसँग कार्यगत एकता गरी अनेरास्ववियूले आफ्नो नेतृत्वमा वृहत विद्यार्थी शक्तिको निर्माण गर्नु आवश्यक छ।
५)समाजवादी शिक्षा प्राप्तीका लागि संघर्ष
अनेरास्ववियूले आफ्नो स्थापनाकालदेखि नै समाजवादी शिक्षा प्राप्तीलाई आफ्नो प्रमुख लक्ष्य बनाएर सांगठनिक क्रियाकलाप गरिहरेको छ । पहिले विशिष्ट परिस्थितिमा अनेरास्ववियूले शैक्षिक भन्दा राजनैतिक गतिविधि गर्नु परेको थियो । त्यहि कारणले जनवादी शिक्षा प्राप्तीका लागि अनेरास्ववियूले खास पहल गर्न सकेन । यो बीचमा प्रतिक्रियावादी शक्तिले समाजवाद शिक्षाको भ्रामक प्रचार गरी आम जनतामा गलत सन्देश प्रवाह गरेको छ ।
अब अनेरास्ववियूले आम विद्यार्थी तथा अभिभावकको बीचमा गएर जनवादि शिक्षाको महत्व बुझाउने, सरोकारवाला पक्षसँग जनवादी शिक्षा लागू गराउन विचार, विमर्ष र छलफल गर्ने तथा जनवादी शिक्षा प्रणाली लागू गर्न वर्तमान शिक्षा ऐनको संशोधन तथा जनवादी शिक्षा प्रणाली कार्यान्वयनका लागि सरकार तथा सम्वन्धित पक्षलाई दवाव दिने तथा त्यसका लागि संघर्ष गर्न अनेरास्ववियू तयार रहनु पर्छ ।
अबको अनेरास्ववियूले यी कार्यभारहरु पूरा गर्न नसक्ने हो भने विगतमा निर्माण गरेको गौरवमय स्वर्णिम इतिहासलाई मात्र रटेर आम विद्यार्थी र विद्यार्थी संगठनहरुको नेतृत्व गर्न सक्दैन र नेता बन्न सक्दैन । साथै अनेरास्ववियूको भविष्य पनि अनिश्चत र अन्धकार हुन्छ ।