सिमकोट । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कार्यकर्तालाई एकल रुपमा निर्वाचन जित्ने माहोला बनाउन निर्देशन दिएका छन् ।
गृह जिल्ला हुम्लाको सदरमुकाम सिमकोट पुगेलगत्तै सिमकोटमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दैं कांग्रेसको कार्यसम्पादन समितिका सदस्य शाहीले यसते बताएका हुन् ।
‘आगामी ०८४ सालको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस एकल रुपमा निर्वाचन जित्ने माहोलको तयारीमा लाग्नुहोस्’, नेपाली कांग्रेस हुम्लाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा शाहीले भन्नुभयो ‘स्थानीय तहदेखि हरेक क्षेत्रमा अहिले पनि कांग्रेसविरुद्ध घेराबन्दी हुने गरेको छ । जतिसुकै मोर्चा बनाएर निर्वाचन लडेपनि परिणाम निस्केको पछिल्लो दिन अरु राजनीतिक दलहरु कांग्रेस विरुद्ध मोर्चामा लाग्ने गरेकाले अब हामी एकल रुपमै निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ ।’
पार्टी भित्र देखिएको गुटउपगुटको समस्या ठूलो नभएको उल्लेख गर्नु भएका नेता शाहीले आउँदो निर्वाचनमा शक्तिशाली कांग्रेस पार्टी बनाएर जाने वातावरण तयार गर्न सातवटै गाउँपालिकाका नेता–कार्यकर्तालाई निर्देशन दिए । पार्टीलाई असर पर्ने गरी गुट बनाउन पाउने छुट कसैलाई नभएको चेतावनी दिएका शाहीले पार्टीका नेता तथा कार्यकर्ता पनि भन्ने तर निर्वाचनमा अन्य पार्टीलाई सहयोग गर्ने कांग्रेसको नेता–कार्यकर्ता कोही हुन नसक्ने भन्दै कुनै विषयमा समस्या भए आफू बसेर समाधान गर्न तयार रहेको बताउनुभयो ।
निर्वाचनमा घात–प्रतिघात गरे कसैका लागि राम्रो नहुने चेतावनी दिएका शाहीले इमानदारीसाथ पार्टी निर्माणमा लागे जिल्लाका अन्य पार्टी भित्र देखिएको असन्तुष्टिका कारण पनि कांग्रेस पार्टी जिल्लाका नेता कार्यकर्ताको आकर्षणको केन्द्र बनेको दावी गर्नुभयो ।
कांग्रेस नेता विमलेन्द्र निधिसहित सिमकोट पुग्नु भएका शाहीले लिमि लाप्चाबाट कैलास मानसरोवरको दुरदर्शन गर्ने र केहि दिन जिल्लामै रहने कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सभापति मोहन विक्रम सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा कांग्रेस केन्द्रीय सदस्य रंगमति शाही, सीता कुमारी राना, ट्रेड युनियनका पुर्ब सभापति खिलानाथ दाहाल, महिला संघकी केन्द्री सदस्य रीता शाही, कांग्रेस प्रदेश कार्यसमितिका सभापति जयपति रोकायालगायतले प्रशिक्षण मन्तव्य राख्नु भएको छ ।