इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।
उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर क्रुर तरिकाले आक्रमण गरेको उनले बताए । ‘हाम्रो क्यापमा बसेको बोसले लगभग ७० वर्षको हुनुभयो, उहाँले अहिलेसम्म यस्तो गम्भीर स्थिति देखेको थिइनँ भन्नुभयो’, उनले सुनाए ।
हमासका आक्रमणकारीहरु मोबाइल गेम पब्जीमा जसरी प्यारसुटबाट हाम फालेर आएको उनले बताए ।
उद्धार उडानमार्फत आएकी सिराहाकी शोभा पासवानले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको बताइन् । ‘नेपाल आएपछि वाल वाल बचेर आयौं भन्ने भयो, ल्याण्ड हुने बित्तिकै हल्ला गरेर ताली बजायौं’, उनले सुनाइन्, ‘तर, दुःखचाहिँ इजरायलमा अरु साथीहरु मारिएकोमा छ, अझै एकजना साथी बेपत्ता भएकोमा छ ।’
प्रस्तुत छ, अनलाइनखबरकर्मी गौरव पोखरेल र दीपेश शाहीले इजरायलबाट फर्किएका विद्यार्थीहरुसँग गरेको कुराकानीको सम्पादित अंश : –
‘पब्जी गेममा जस्तै प्यारासुटबाट आतंकवादी आए’
रिजवान शाही
हाम्रो विश्वविद्यालयबाट ११४ जना इजरायल गएका थियौं । साउथ पार्टमा रहेको मेन्किह्वावमा थियौं । हाम्रोतिर धेरै जटिल परिस्थिति थिएन ।
तर, मेरो एकदम क्लोज साथी राजेशकुमार स्वर्णकार, गणेश नेपालीलगायत १० जनाको मृत्यु भयो । त्यसले एकदमै धेरै मानसिक तनाव दियो ।
बंकरमा भएका साथीहरुसँग फोनमा कुरा भइराख्थ्यो । कतिपय अवस्थामा नेटवर्क हुन्थेन । फोन गरेर दिन वित्थ्यो जहिल्यै पनि ।
जब सुदूरपश्चिम विश्वविद्यालयका साथीहरूको बारेमो नराम्रो खबर सुनियो अनि हामी पनि आत्तियौं । अलिकति सुरक्षित स्थानमा छौं भनिएकाले मन हलुका हुन्थ्यो, तर युद्ध त युद्ध हो । त्यसको आवाजले नै तर्साउने रहेछ
म बसेको क्षेत्र इजरायलमा ‘न्यूक्लियर प्लान्ट’ भएको क्षेत्र थियो । त्यसैले त्यहाँ हत्तपत्त आक्रमण् हुने थिएन । किनभने, त्यहाँ आक्रमण भयो भने इजरायलको ९० प्रशित क्षेत्र ध्वस्त हुन्थ्यो । त्यसैले यो क्षेत्र तुलनात्मक रुपमा सुरक्षित हो ।
तपाईंले पब्जी गेम हेर्नु भएको होला नि, तलबाट आक्रमण गर्ने आइरहेका हुन्छन् । त्यहीँबाट प्यरासुट लिएर आउनेहरु पनि हुन्छन् । इजरायलमा पनि त्यस्तै भयो, प्यारासुटबाट झरेर आक्रमण गरे ।
गेममा देखेको थिएँ, ठ्याक्कै त्यस्तै घटना आँखै अगाडि भयो । सुरुमा आतंकवादीहरु बोर्डर फोडेर छिरेको थियो । त्यसरी छिरेर आउनहरुलाई रोक्न मिलिटरी व्यस्त भएका बेला प्यारासुटबाट आतंकवादीहरु छिरे । उनीहरुले गाउँलाई टार्गेट गरे । फार्महरु पनि लगभग सबै डिस्ट्रोय गरेका छन् ।
मलाई लाग्छ, उनीहरुले मुख्य निशाना बनाएका इजरायलीलाई नै हो । तर, हाम्रा साथीहरु पनि गाउँमा बस्नु भएकाले निशानामा पर्नुभयो । उनीहरुले पटकपटक हात उठाएर ‘वी आर नेपाली, वीर आर नेपाली’ भन्दा पनि उनीहरुले सुनेनन् ।
सरकराले उद्दार गरेर ल्यायो, एकदम राम्रो लागेको छ । तीन चार दिनदेखि लगातार दबाब पनि दिइरहेका थियौं । सुरुमा केही पनि पहल नभएजस्तो महसुस भइरहेको थियो । तर, नेपालका साथीभाइ सबैले धेरै सहयोग गर्नुभयो । त्यसका लागि जिन्दगीभर आभार हुने छौं ।
‘बाँचियो तर, साथी गुमाउँदा जिन्दगीभर ट्रमा हुने भो’
शोभा पासवान
जब आक्रमण हुन्छ, त्यसपछि साइरन बज्छ भन्ने थाहा थियो । त्यो दिन लामो समयसम्म साइरन बजिरह्यो, त्यसपछि एकदमै डर लाग्यो ।
नेपाली साथीहरु कुदेको देखेर बंकरतिर गयौं । त्यो बंकर देखेर सेफ छ भन्ने भयो । केहीवेरमा यो मिसायल एट्याक मात्र होइन, युद्ध हो भन्ने थाहा पायौं । त्यो थाहा पाएपछि हाम्रो बोसले सुरक्षित स्थानतिर सार्नुभयो । काम गर्ने ठाउँभित्रै थियौं । मुख्य रोडभन्दा अर्को ठाउँमा लगेर लुकाइएको थियो ।
सोरासिम नर्सरीमा बंकर थियो । जतिबेला वार सुरु भयो, त्यतिबेला कुनै आइडिया थिएन ।
तीन दिनजति गाह्रो गरी बितायौं । पहिला दिन २४ घन्टा बंकरभित्र मात्र बसेर वितायौं । २४ घन्टापछि केही छिन वासरुम जान मिल्छ भन्नुभयो । तर, बाहिर जाने बित्तिकै लगातार साइरन बजिरहेको थियो । त्यो ५ मिनेटभित्र जान पाएको छैन, भित्रभित्र भनेपछि फेरि भित्र आयौं ।
सानो बंकर थियो । नर्सरीमा काम गर्ने साथीहरु थियौं । अर्को चोटी बाहिर निस्किएको भनेको अर्को २४ घन्टापछि हो ।हामीभित्र बसेर सामाचार सुनिरहेका थियौं । साथीहरु गुमायौं भन्ने थाहा पायौं । त्यसपछि मानसिक रुपमा पनि कमजोर भयौं । हाम्रै क्षेत्रमा भएका साथीहरु मारिए भन्ने भएपछि हामी पनि बाँच्दैनौं होला भन्ने भयो । साथीहरुले ‘वीआर नेपाली वीआर नेपाली’ भनिरहेका थिए, तर उनीहरुले सुनेनन्, सिधै सुट गरिदिए ।
राजेश स्वर्णकारलाई हामीले गुमाएका छौं, गणेश नेपाली भन्ने साथीको घर पनि बझाङ नै हो । इन्टरमेटहरु गुमाउँदा कति पीडा हुन्छ म भन्न सक्दिनँ । त्यो बम आयो, मिसाइल आयो, हामी बच्यौं, सबै ठीक छ । तर हामीले हाम्रो साथी गुमायौं, यो ट्रमा चाहि लाइफटाइम ट्रमा भयो ।
चौथो दिनमा दूतावासकाले सम्पर्क गर्नुभयो । हिजो बल्ल उडान भयो ।
नेपाल ल्याण्ड हुने बित्तिकै हल्ला गरेर ताली बजायौं । सेफ भयौं भनेर तर, दुःख केमा छ भने हामी इजरायलबाट आयौं । सेफ छौं, भन्ने भयो । तर, दुःख यति छ कि साथी गुमायौं । हाम्रो विपिन जोशी भन्ने साथी गायब छ । हजुरहरुले पनि ऊ कहाँ छ, कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन सहयोग गरिदिनु होला । आवाज उठाइदिनु होला ।
‘शनिबार उठ्ने वित्तिकै मिसाइलहरु पड्किरहेको देखें’
शनिबारको दिन बिहान हामी सुतिरहेका थियौं । एक्कासी डडयाङडुडुङ आवाज आयो । उठेर बाहिर आउनेबित्तिकै आकाशमा मिसाइलहरू पड्की रहेको देख्यौं ।
इजरायलमा युद्ध भइरहेको भनेर पहिले नै थाहा थियो । त्यसैले पनि त्यो कुरालाई त्यति धेरै ठूलो रुपमा लिएका थिएनौं । त्यसपछि जब अवस्था सिरियस हुँदै गयो त्यसपछि डर लाग्न थाल्यो ।
हामी बस्ने कृषि फर्म सहरी क्षेत्रले घेरेको थियो । नेटीवर्ड सिटीमा एकदम धेरै आक्रमण भइरहेको थियो र मिसाइलहरू खसाइरहेको थियो । हाम्रो बस्ने ठाउँमै आक्रमण नभए पनि त्यसको आवाजले हामीलाई हिट गरिरहेको हुन्थ्यो ।
हामी गएको एक महिना बढी भएको थियो । आक्रमण सुरु भएपछि हामी बंकरमा छिर्यौं । सुरुमा त सुरक्षित भइन्छ होला भन्ने लागेको थियो ।
तर पछि गएर जब सुदूरपश्चिम विश्वविद्यालयका साथीहरूको बारेमो नराम्रो खबर सुनियो अनि हामी पनि आत्तियौं । अलिकति सुरक्षित स्थानमा छौं भनिएकाले मन हलुका हुन्थ्यो, तर युद्ध त युद्ध हो । त्यसको आवाजले नै तर्साउने रहेछ ।
त्यहाँ आक्रमण भएपछि हामीले घर परिवारलाई जानकारी गरायौं । फेरि मलगायत कृषि विश्वविद्यालयका साथीहरू बसिरहेको फर्मचाहिं सुरक्षा हिसाबले राम्रो ठाउँमा थियो । अरु र्फमलाई रेस्कयू गर्नु परे पनि हामीलाई गर्नु परेन ।
आज फर्मबाट सीधै विमानस्थल आयौँ । साढे १ घण्टामा पुगियो । हाम्रो विश्वविद्यालयका कसैलाई पनि असर भएन ।
‘ढिलै भए पनि उद्धार हुँदा खुशी छु’
रवीन भट्टराई
सुरुमा सरकारले उद्धार गर्न ढिलाइ गरिरहेको जस्तो लागेको थियो । त्यसपछि हामीले उताबाट यता नेपालबाट साथीहरूले पनि दबाब बढायौं ।
तर अन्तिम समयमा आएर सरकारले निकै राम्रो तरिकाले हामीलाई उद्धार गरेको हो । त्यता त सबै घाइते भएजस्तो, सबै क्याजुल्टी भइरहेको हो कि भनेजस्तो थियो । त्यसलाई मध्यनजर गरेर अहिले हामीलाई स्वदेश फिर्ता गरेको छ ।
जतिसुकै सुरक्षित स्थान भनेपनि युद्ध चलुन्जेल खतरा नै हुन्छ । त्यही भएर यत्रो विद्यार्थीलाई उद्धार गर्नु सरकारको प्रशंसा गर्नुपर्छ ।
हामीसँग थाइल्याण्ड, जाम्बिया र इण्डियाका विद्यार्थीहरू थिए । उनीहरूलाई आक्रमण भएकै दिन रेस्क्यु मिसन आएर लिन सुरु गरिसकेको थियो । हाम्रोचाहिं दुई तीन दिनसम्म नआएको भएर अप्ठेरो लागेको थियो ।
इजरायलको दूतावास, एनआरएनलगायतले सबैले सहयोग गर्नुभएको थियो ।
कृषि फर्मका मान्छेहरू पनि हामीलाई सान्तवना दिइरहनु हुन्थ्यो । प्रत्येक्ष भेट्न आउन सक्ने अवस्था पनि थिएन । हामीलाई त्यही शान्त्वना पनि बढी भयो । त्यहाँको सुरक्षाकर्मीले पनि असाध्यै राम्रो व्यवहार गरेको थियो ।