नेपालमा केही समयदेखि चिकित्सक लगायत स्वास्थ्यकर्मीहरू विरुद्ध हिंसा बढ्दै गएको छ। ताजा उदाहरणका रूपमा मणिपाल अस्पतालका चिकित्सकहरू माथि भएको आक्रमणलाई लिन सकिन्छ। यसले चिकित्सक र स्वास्थ्य सेवा प्रणाली दुवैका लागि गम्भीर र दूरगामी असरहरू निम्त्याउन सक्छ। यस्ता खालका गतिविधिले कसरी स्वास्थ्यकर्मीहरू र समग्रमा स्वास्थ्य सेवा तथा बिरामीहरूलाई असर गर्छ ? यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? यिनै विषय यहाँ उठान गरिएको छ।
शारीरिक र मनोवैज्ञानिक हानि कसैले कसैमाथि हिंसा गर्नु भनेको शारीरिक वा मनोवैज्ञानिक रूपमा चोट पुर्याउनु हो। जब चिकित्सक र स्वास्थ्यकर्मीहरू विरुद्ध हिंसा गरिन्छ उनीहरूलाई पनि सर्वसाधारणलाई जस्तै आघात पुग्छ।
हिंसाको अनुभव गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरू घाइते हुने, चोटपटक लाग्ने, शरीरका अगंहरू भाँचिने वा थप गम्भीर चोटहरू सहित शारीरिक, मानसिक व्यथा भोग्न बाध्य हुन्छन्।
चोटपटकको असर शारीरिक र मानसिक रूपमा कति हुन्छ भन्ने कुरा कुन हदसम्मको हिंसा भयो भन्ने अवस्थाले निर्धारण गर्दछ। जसका कारण उनीहरूले मनोवैज्ञानिक आघात पनि अनुभव गर्न सक्छन्, जस्तै पोस्ट ट्रमाटिक तनाव, चिन्ता तथा भावनात्मक संकट। उनीहरूको भावनात्मक संकट गहिरिंदै गयो भने यसले व्यक्तिगत जीवनमा तथा समग्र स्वास्थ्य प्रणालीमा असर गर्छ।
घटेको मनोबल र काममा सन्तुष्टिहिंसा बारम्बार दोहोरिने घटनाहरूले स्वास्थ्यकर्मीहरूको मनोबल र कामको सन्तुष्टि घटाउन सक्छ। यसले उनीहरूको कार्यसम्पादन क्षमता, जागिर कायम राख्ने वा नराख्ने वा विदेश पलायन हुने सम्भावना बढ्छ। यसले उनीहरूको पारिवारिक जीवनमा असर त पर्यो पर्यो, साथै उनीहरूको समग्र कल्याणमा नकारात्मक असर पार्न सक्छ। उनीहरूको विदेश पलायन हुनु भनेको देश, समाज र परिवारले गरेको लगानी खेर जानु हो।
बिरामी हेरचाहको गुणस्तर घट्ने
हिंसाले गर्दा एक प्रतिकूल र असुरक्षित कार्य वातावरण सिर्जना गर्न सक्छ। जसले स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्ने पेशेवरहरूलाई उच्च गुणस्तरको बिरामी हेरचाह प्रदान गर्न गाह्रो बनाउँछ। व्यथित स्वास्थ्यकर्मीहरू बिरामीहरूसँगको अन्तरक्रियामा कम केन्द्रित हुने, ध्यान कम दिने र दयालु नहुन सक्छन्।
दुखेको मन
हिंसाको सामना गर्ने स्वास्थ्यकर्मीहरू दुखेको मन लिएर काम गरेका हुन्छन् जसको कारण उनीहरू उच्च जोखिममा हुन्छन्। थकान, हीनताबोध र डाक्टरी व्यवसायमा यही निरन्तरता दिंदा व्यक्तिगत उपलब्धि कम हुने भावना निम्त्याउन सक्छ। दुखेको मनले काम गर्दा दुवै व्यक्ति र स्वास्थ्य सेवाको गुणस्तरमा हानिकारक प्रभाव पार्न सक्छ।
कर्मचारी अभावचिकित्सकहरू विरुद्ध चलिरहेको हिंसाले व्यक्तिहरूलाई स्वास्थ्य सेवामा आफ्नो क्यारियर निरन्तरता दिनबाट रोक्न सक्छ। अनुभवी स्वास्थ्यकर्मीहरू समयअघि नै पेशा छोड्न बाध्य हुन सक्छन्। यसले विद्यमान कर्मचारी अभावलाई बढाउन र स्वास्थ्य सेवा प्रणालीलाई अस्तव्यस्त पार्न सक्छ। कोभिड १९ को अवस्थामा देखिएको भयावह अवस्था भन्दा पनि बढी थेगिनसक्नुको अवस्था आउन सक्छ।
उच्च लागतयदि चिकित्सकहरूमाथि निरन्तर हिंसा भयो भने सरकारी तथा व्यक्तिगत रूपमा लागत बढ्न सक्छ। हिंसा सम्बन्धित घटनाहरूले सुरक्षा उपायहरू, कानुनी प्रक्रिया र घाइते कर्मचारी सदस्यहरूको लागि चिकित्सा उपचारको आवश्यकताको कारणले स्वास्थ्य सेवा संस्थाहरूको लागि लागत बढाउन सक्छ। त्यो लागत नेपाली जनताले तिरेको करबाट नै व्यहोर्नुपर्ने हुन्छ। जसको असर गरीब, निमुखा र पछाडि पारिएका वर्गहरूमा नै पर्छ।
कानुनी र नैतिक मुद्दा चिकित्सकहरू विरुद्धको हिंसाले कानुनी र नैतिक द्विविधा निम्त्याउन सक्छ। स्वास्थ्य सेवा संस्थाहरूले मुद्दाको सामना गर्न सक्छन्। स्वास्थ्यकर्मीहरूलाई यसले कठिन परिस्थितिमा राख्छ। जहाँ उनीहरूले घटनाहरू रिपोर्ट गर्ने अनावश्यक शुल्कहरू तिर्नुपर्ने वा अन्य कानुनी कारबाहीहरू लिने निर्णय गर्नुपर्छ।
चिकित्सकहरू यो झन्झटिलो कानुनी प्रक्रियामा लाग्नुपर्ने अवस्था आयो भने, बिरामीहरूको उपचारको क्रममा समय अभावका कारण विकराल अवस्था आउन सक्छ। विश्वासको क्षयहिंसाले बिरामी र स्वास्थ्य सेवा प्रदायकहरू बीचको विश्वासलाई नष्ट गर्न सक्छ। बिरामीहरू चिकित्सा सेवा लिनेबारे आशंकित हुन सक्छन्। तिनीहरूका स्वास्थ्य सेवा प्रदायकहरूलाई संवेदनशील जानकारी खुलासा गर्न अनिच्छुक हुन सक्छन्।
कमजोर सञ्चार बिरामी र स्वास्थ्य सेवा प्रदायकहरूबीचको प्रभावकारी सञ्चार सही निदान र उपचारको लागि महत्त्वपूर्ण छ। हिंसाले यस सञ्चारमा बाधा पुर्याउन सक्छ। सम्भावित चिकित्सा त्रुटिहरू र बिरामीको सुरक्षामा सम्झौता गर्न सक्छ।
सामाजिक प्रभाव
चिकित्सकहरू विरुद्ध हिंसाले व्यापक सामाजिक परिणामहरू निम्त्याउन सक्छ। किनकि यसले स्वास्थ्य सेवा पेशेवरहरू र समग्र रूपमा स्वास्थ्य सेवा प्रणालीको सम्बन्धमा अविश्वास सृजना गर्छ। यसले मानिसहरूलाई आवश्यक परेको बेला चिकित्सा सेवा खोज्नबाट पनि निरुत्साहित गर्न सक्छ। जसले गर्दा ढिलो उपचार हुन्छ र खराब स्वास्थ्य परिणामहरू निम्त्याउँछ। समाजमा रोगी मानिसहरूको संख्यामा वृद्धि हुनसक्छ जुन विकास र समृद्धिको लागि बाधक हुन्छ।
चिकित्सक र स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसा रोक्ने प्रयासहरूमा सुरक्षा उपायहरू लागू गर्ने, यस मुद्दाको बारेमा सचेतना जगाउने, हिंसा हुँदा अपनाउनुपर्ने सुरक्षित तरिकाहरूमा तालिम प्रदान गर्ने, र स्वास्थ्यकर्मीहरूको लागि कानुनी सुरक्षाको वकालत पर्छन्। तसर्थ यस समस्यालाई सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरूको लागि सुरक्षित र सहयोगी कार्य वातावरण सुनिश्चित गर्न तथा स्वास्थ्य सेवा वितरण प्रणालीको अखण्डता कायम राख्न आवश्यक छ।