जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ को तयारी सहित प्रभावकारी उद्घाटन भएर कार्यान्वयनको मध्य भागमा पुगिसकेको छ। कार्यान्वयनको समीक्षा हुनेछ नै। यो लेख अभियानको मुद्दा र योजनामा केन्द्रित छ।
वर्तमान अवस्थामा विकसित विभिन्न अन्तर्विरोधहरूको सही विश्लेषण गरी उन्नत विचारको विकास गर्ने र समस्याको समाधान गर्न सक्ने सक्षम पार्टी निर्माण गर्ने यो अभियानको उद्देश्य रहेको छ।
यही अभियानको क्रममा म रूपन्देहीमा छु। यो नेपालको एउटा विशेष प्रकारको जिल्ला हो। यो जिल्लाले २००७ सालको राजनीतिक घटना, डा. केआई सिंहको मोर्चा, दशकौंको जनआन्दोलन, १०वर्षे युद्ध, मधेश आन्दोलन र शान्ति प्रक्रियामा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा महत्वपूर्ण भूमिका खेलेको छ।
रूपन्देही थुप्रै औद्योगिक प्रतिष्ठान र त्यसमा आबद्ध हजारौं मजदूरहरूको उपस्थिति, भूमिहीन दलित तथा सुकुम्बासी सहित अव्यवस्थित बसोवासीहरूको भूमि सम्बन्धी समस्या, शहर र शहरोन्मुख बस्तीहरूको समस्या, खेतीयोग्य जमिनको प्रचुरता सहितको आर्थिक विशेषता भएको जिल्ला हो। यहाँ मधेशी, थारु, मुश्लिम, दलित, जनजाति, खस-आर्य लगायत विविध समुदायका आ–आफ्नै पहिचान र संस्कृति सहित सुन्दर सद्भाव र सहकार्य रहेको छ। राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेलेको माओवादी शक्तिलाई रूपन्देही जिल्लाको राजनीतिक रंगमञ्चमा नेतृत्वदायी भूमिकामा स्थापित गर्नका निम्ति यहाँको विशेषताका आधारमा अभियानका मुद्दाहरू उठाउन जरुरी रहेको छ।
वैचारिक–राजजनैतिक रूपमा पार्टी र समाजको स्तर विकास गर्नु, संगठन सुदृढ र विस्तार गर्नु, पार्टीलाई सामाजिक तथा सामुदायिक हिसाबले परिचालन गर्नु, आफ्नै स्रोतसाधनमा आधारित उद्यमशीलता सहित पार्टी र जनतालाई आत्मनिर्भर बनाउन पहल गर्नु, जनसम्बन्ध सुदृढ गर्नु, सुशासनको पक्षमा र भ्रष्टाचारको विरूद्धमा भूमिका खेल्नु अभियानका मुख्य लक्ष्य रहेका छन्।
नेकपा (माओवादी केन्द्र) को राजनीतिक कार्यदिशा, समाजवादको नेपाली बाटो, संघीयताको सुदृढीकरण, राजनीतिक पुनःसंरचनाको पूर्णता, ‘जनयुद्ध’ले स्थापित गरेका परिवर्तनका मुद्दाहरू र त्यसमा पार्टीले खेलेको भूमिका आदि बारे वैचारिक-राजनीतिक रूपमा पार्टी परिचालनको क्षेत्रमा व्यापक बहस, प्रशिक्षण, परिचालन गरी सक्षम र सबल पार्टी बनाउन पहल गर्नुपर्दछ।
पार्टी केन्द्र र प्रदेशले तय गरेका उद्देश्यहरू आत्मसात् गर्दै जिल्लाको अभियानको ठोस उद्देश्य तय गरिएको छ। पार्टी कार्यकर्ताको वैचारिक स्तर वृद्धि गर्न जिल्ला, पालिका र वडाको सापेक्षतामा सैद्धान्तिक–व्यावहारिक पाठ्यक्रम बनाई स्कुलिङ सञ्चालन गर्ने, विभिन्न विषयगत विज्ञता सम्बन्धी कार्यशाला, गोष्ठी र तालिम सञ्चालन गर्ने, जनताका बीचमा घरदैलो, विभिन्न सरोकारवाला समूहसँग अन्तरक्रिया, बहस, छलफल गरी सल्लाह, सुझाव, आलोचनाको माग गर्दै जनसम्बन्ध सुदृढ गर्नुपर्नेछ।
पार्टीका सबै विभागहरूको बैठक बसी पार्टी र सरकारका लागि नीतिगत अध्ययन गरी सुझाव दिनुपर्नेछ। त्यसका लागि विभिन्न विषयका विषय-विज्ञ (थिंक ट्यांक) को रोस्टर निर्माण गरी विषयगत अध्ययन–अनुसन्धान गर्न पार्टीले निरन्तर छलफल गर्नुपर्नेछ। पार्टीको नेतृत्वमा भएको संघीय सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेका राम्रा कामहरूको प्रचार-प्रसार तथा स्थानीय तहसम्म विस्तार गर्न आवश्यक छ।
वामपन्थी आन्दोलनका अग्रज व्यक्ति–व्यक्तित्वहरू, माओवादी आन्दोलनमा भूमिका खेलेका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूसँग भेटघाट, छलफल, अन्तरक्रिया गर्ने, सल्लाह, सुझाव माग गर्ने तथा अहिलेको माओवादी, वामपन्थी एकता तथा ध्रुवीकरण र समाजवादी मोर्चाको पक्षमा भूमिका खेल्न अनुरोध गर्नु हाम्रो दायित्व हो। शहीद परिवार, बेपत्ता योद्धा, पूर्व जनमुक्ति सेना, घाइते, अपाङ्गता भएका कमरेडहरूसँग भेटघाट, छलफल, सम्मान, संगठन गर्ने योजना निर्माण गरी कार्यान्वयन गर्नु आवश्यक छ।
पार्टीमा युवा सहभागिता र नेतृत्व बढाउने, आधारभूत वर्गका जनतासम्म पार्टीलाई पुर्याउने, नयाँ ज्ञान–सीप–विज्ञता भएका नयाँ वर्गलाई पार्टीमा भित्र्याउने, सम्पूर्ण वामपन्थी र माओवादी कार्यकर्तालाई जागरूक बनाउँदै नयाँ ढंगको पार्टी निर्माण गर्ने संगठनात्मक लक्ष्य रहेको छ।
जनताका वास्तविक जनसरोकारका मुद्दाहरूको आधारमा पार्टी निर्माण कार्यको थालनी गरिनेछ। पार्टी सदस्यताको व्यापक जाँच र अद्यावधिक गरी कार्यक्रमसहित नवीकरण गर्ने, छुटेका कमरेडहरूको पार्टी सदस्यता समावेश गर्ने, नयाँ पार्टी सदस्यता विस्तार गर्ने, पार्टी सदस्यहरूलाई समितिमा संगठित गर्न प्रत्येक वडामा टोल पार्टी समिति र सेल कमिटीहरू निर्माण गर्न गठन–पुनर्गठन गर्दै ती कमिटीहरूको बैठक बसी जनताका वास्तविक जनचासोका मुद्दा र एजेण्डाहरू पहिचान गरी निरन्तर पैरवी, परिचालन र संगठित गर्नुपर्नेछ। साथै पालिका र वडाहरूका पार्टी कार्यालय, कोष, सञ्चार र प्रशिक्षण व्यवस्थित गरिनेछ।
यतिबेला पार्टी संगठनमा युवा सहभागिता र नेतृत्व विकास गर्नु, व्यापक रूपमा युवा परिचालन गर्नु मुख्य कार्य हो। त्यसका लागि रचनात्मक कार्यक्रममा युवा, विद्यार्थी र खेलकुद संगठनलाई केन्द्रित गर्नुपर्दछ। विद्यालय–कलेजमा खेलकुद प्रशिक्षण र प्रतियोगिता सञ्चालनको लागि पहलकदमी लिनुपर्नेछ। मा.वि. तहका विद्यार्थीका लागि समाजमा हुने अपराध, दुर्व्यसन र लागूऔषध विरोधी गोष्ठी, तालिम, प्रशिक्षण, अन्तरक्रिया गर्न जरूरी छ।
आम युवाहरूलाई प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी सही बुझाइको विकास गर्न प्रशिक्षित गर्नुपर्ने र युवतीहरूका लागि आत्मसुरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने हुन्छ। यस्तै सूचना–प्रविधि सम्बन्धी गतिविधि, कला, साहित्य र संस्कृति सम्बन्धी गतिविधिको माध्यमबाट युवा परिचालन, युवा सहभागिता र युवाहरूलाई पार्टीमा आकर्षित गर्ने योजना बनाउन जरूरी छ।
शैक्षिक संस्थाको सुधार, शिक्षाको गुणस्तर, शिक्षक नियमन, व्यवस्थापन समिति तथा अभिभावक संघहरूको सशक्तीकरण र सहभागितामा वृद्धि, स्थानीय पाठ्यक्रम, शिक्षणमा स्थानीय सन्दर्भमा गरिने जीवन्त पढाइ जस्ता शैक्षणिक मुद्दाका आधारमा विद्यार्थी र शिक्षक/प्राध्यापक संगठन परिचालन हुनुपर्दछ।
यो जिल्लामा उत्कृष्ट पहिचान बनाएका सामुदायिक विद्यालयको असल अभ्यासलाई जिल्लाभरि विस्तार गर्न विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापक जस्ता शैक्षिक नेतृत्वदायी पंक्तिसँग अन्तरक्रिया, छलफल, भ्रमण आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ।
सबै जनवर्गीय संगठनहरूको पेशागत मागका आधारमा छलफल, अन्तरक्रिया, प्रशिक्षण र परिचालन गर्न आवश्यक छ। उदाहरणस्वरूप सुकुम्बासी तथा भूमिहीन दलितको समस्या, महिला र दलितहरू माथि गरिने विभेदको समस्या, मधेशी र जनजातिको पहिचान एवम् जीविकाको समस्या लगायत मुद्दाहरू उठाउँदै ‘जबस’ मोर्चामा संगठित गर्नुपर्दछ।
शिक्षा, स्वास्थ्य, रोजगारी आदि क्षेत्रका समस्याहरूको उठान र समाधानका उपायमा व्यापक छलफल गर्दै संगठन निर्माण गर्ने काममा लाग्नुपर्ने हुन्छ। शहरिया गरीब र मध्यम वर्गका जनजीविका र शिक्षाको मुद्दाका आधारमा परिचालन गर्दै संगठित गर्नुपर्दछ।
स्थानीय स्रोत-साधन, सीप, लगानी, प्रविधि र ज्ञानका आधारमा स्थानीय योजनामा उद्यमशीलताको विकास, स्वरोजगार र रोजगारीको विकास गर्नका लागि प्रारम्भिक अध्ययन-अनुसन्धान थालनी गर्नुपर्दछ। यसको आधारमा आम रूपमा टोल, बस्ती, वडास्तरमा व्यापक रूपमा सामुदायिक उत्पादन, उद्यमशीलताको योजना कार्यान्वयन गर्न पार्टीको सहभागिता सहित सहजीकरण गर्नुपर्दछ। उक्त काम गर्नका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण सहजीकरण तथा दबाव सिर्जना गर्न र जितेका स्थानहरूमा नमूनायोग्य काम गर्नका लागि पार्टीले काम गर्नुपर्दछ।
वन समिति, विद्यालय व्यवस्थापन समिति, टोल सुधार समिति, आमा समूह, खानेपानी तथा सिंचाइ, विभिन्न जातीय परम्परागतका समितिहरू लगायत सामाजिक तथा सामुदायिक संघ-संस्थाहरूमा पार्टीको नेतृत्व, सहभागिता, सक्रियता र सकारात्मक हस्तक्षेप गर्दै सामाजिक रूपमा पहलकदमी लिने कामलाई प्राथमिकता दिई कार्यान्वयन गर्नुपर्नेछ।
उपरोक्त मुद्दाहरू सहित अभियानले पार्टीभित्र देखिएका समस्या पनि हल गर्नेछ। जनतासँगको सम्बन्ध सुदृढ भएको जीवन्त पार्टी निर्माण गर्नेछ। पार्टीलाई विभिन्न जनवर्गमा पुर्याई स्थानीय नेतृत्व सहित पार्टी विस्तारमा टेवा पुर्याउनेछ।
लेखक नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन्।