यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ। कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा लिइन्छ।
आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ। नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ। त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ। ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ। शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ।
‘कुकुरको ‘ब्रिड’ अनुसार नै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ’, नेपाल प्रहरीको केनाइन महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक देउती गुरुङले भनिन्।
प्रहरीले छिमेकी मुलुक भारत, थाइल्याण्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याउने गरेको छ। ती छाउरालाई छ महिना पुगेपछि तालिम दिइन्छ। विभिन्न जातका कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छ।
नेपाल प्रहरीसँग एक सयभन्दा बढी कुकुर छन्। कुकुरलाई न्यूनतम चार महिनादेखि एक वर्षसम्म तालिम दिने गरिन्छ। कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ। ‘पाँचदेखि १० वर्षसम्म कुकुरलाई अनुसन्धान कार्यमा खटाउने गरिएको छ’,एसएसपी गुरुङले भनिन्, ‘स्वास्थ्य अवस्था, नश्ल र उमेरका आधारमा कुकुर निवृत्त हुन्छन्।’
निवृत्त भएका कुकुरलाई लिएर जाने अधिकार तालिम दिने व्यक्तिलाई हुन्छ। उनले लिन नमानेमा नेपाल प्रहरीकै कर्मचारीलाई जिम्मा लगाइन्छ। प्रहरीले पनि लिन नचाहेमा सर्वसाधारणलाई लैजान सूचना जारी गर्ने गरिएको छ।
कुकुरलाई जथाभावी खानेकुरा खुवाउने गरिँदैन। उनीहरूलाई दैनिक ६०० ग्रामका दरले ‘डग फुड’ खुवाउने गरिन्छ। नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि कुकुरको प्रयोग गर्दै आएको हो। त्यतिबेला पाँच जना प्रहरीलाई कुकुरलाई अपराध अनुसन्धान तथा खोज कार्यमा प्रयोग गर्ने बारेमा तालिम लिन मलेसिया पठाइएको थियो।
तालिमसँगै उनीहरूले चार वटा कुकुर ल्याएका थिए। २०३२ सालबाट कुकुरका लागि छुट्टै शाखा स्थापना गरियो। कुकुरको तालिम व्यवस्थापन र खानपानका लागि भनेर १० जना प्रहरीको दरबन्दी कायम गरिएको थियो। २०४७ सालमा कुकुर तालिम केन्द्र स्थापना गर्नुका साथै तत्कालीन पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापना गरिएको थियो।