दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
कोलकत्तामा दुई सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो।
अस्ट्रेलियाको लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। स्टेभन स्मिथले ३०, ओपनर डेविड वार्नरले २९ र जस इङ्लिसले २८ रनको योगदान गरेका थिए।
वार्नर र हेडबीच पहिलो विकेटको लागि ६० रनको साझेदारी भएको थियो। स्मिथ र हेडले तेस्रो विकेटकोलागि ४५ रनको साझेदारी गरे। मिचेल स्टार्क र प्याट कमिन्सले अविजित क्रमशः १६ र १४ रन जोड्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे।
टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले डेविड मिलरको शततकको मद्दतमा ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै दुई सय १२ रन बनाएको थियो।
५ दशमव ४ ओभरमा दुई विकेट गुमाएर मात्र आठ रन जोडेको दक्षिण अफ्रिका जोडेको थियो। २४ रन बनाउँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारीलाई मिलर र हेन्रिक क्लासेनले ठूलो स्कोरतर्फ पुर्याएका थिए।
ओपनर क्विन्टर डि कक तीन रन र कप्तान टेम्बा बभुमा शुन्यमा पेभिलियन फर्किएपछि दक्षिण अफ्रिका निकै दबाबमा आएको थियो। मार्को जन्सन गोल्डन डकआउट भए।
अस्ट्रेलियाका मिचल स्टार्क र प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए। जस हैजलवूड र ट्राभिस हेडले समान दुई विकेट लिएका छन्।
चार पटक सेमिफाइनल खेलको दक्षिण अफ्रिका यसपटक पनि अभागी सावित भयो। यसअघि अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका थिए। यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। दुबै खेल अस्ट्रेलियाले जित्न सफल भयो। अस्ट्रेलियाले तेस्रो पटक दक्षिण अफ्रिकालाई हरायो।