क्रोएसिया २०२४ मा हुने युरोकपका लागि छनोट भएको छ।
अर्मेनियालाई १-० गोलले पराजित गर्दै लुका मोड्रिचको टोली जर्मनीमा हुने प्रतियोगिताका लागि सिधै स्थान बनाउने अन्तिम टोली बनेको हो।
घरेलु मैदान जाग्रेबमा गएराति भएको खेलमा क्रोएसिया सुरुवातदेखि नै हाबी भएपनि गोल गर्न नसक्दा निराश बनेको थियो। ३० औं मिनेटमा कामोले गरेको प्रहार क्रोसियाका गोलकिपर डोमोनिक लिभाकोभिचले बचाए।
४३ औं मिनेटमा आन्ते बुदिमिरले डेडलक तोडे। युरोकप छनोटमा उनको यो पहिलो गोल हो। १-० को अग्रतासहित दोस्रो हाफ सुरु गरेको क्रोएसियाका लागि मोड्रिचले प्रभावकारी प्रदर्शन गरे। बुदिमिरको गोलनै क्रोएसियालाई युरोको फाइनल चरणमा स्थान सुरक्षित गर्न पर्याप्त भयो।
क्रोएसिया मैदान प्रवेश गर्दा वेल्स र टर्की बीचको खेलको नतिजाले पनि प्रभाव पार्ने थियो। कार्डिफमा वेल्सले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएपछि क्रोएसिया प्ले अफ खेल्नु पर्ने स्थितिमा पुग्यो।
तर ७५ प्रतिशत बल पोजिसनमा राखेको क्रोएसियाले स्पष्ट जित हात पार्दा वेल्स टर्कीसँग एक-एक गोलको बराबरीमा रोकियो। समूह ‘डी’बाट टर्की विजेता र क्रोएसिया उपविजेता हुँदै छनोट भएका हुन्।
क्रोएसियाले सन् २००४ यता लगातार युरो खेल्दै आएको छ। तेस्रो स्थानमा रहेको वेल्सले भने प्ले अफ खेल्नुपर्नेछ। युरो खेल्ने २४ मध्ये २१ टिमको टुंगो लागेको छ।
युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदै छ। आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह ए बाट स्पेन र स्कटल्याण्ड, समुह बि बाट फ्रान्स र नेदरल्याण्डस, समुह सी बाट इङल्याण्ड र इटाली छानिएका छन्।
त्यसैगरी समुह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समुह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन्। त्यसैगरी समुह जी बाट हंगेरी र सर्बिया, समुह एच बाट डेनमार्क र सर्बिया, समुह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समुह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन्।
आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ।
समुह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो। सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो।
अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ।
प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन्।