चार वर्ष भारतमा मजदुरी गरेर गाउँ फर्केपछि दाङ घोराहीका लक्ष्मण चौधरीले आयआर्जनको बाटो भेटेनन् । इँटा भट्टामा केही महिना ज्याला-मजदुरी गरे । तर त्यसले परिवारको छाक टार्नै धौ-धौ भयो ।
अन्त्यमा केही सीप नलागेपछि गत फागुनमा उनी साउदी अरेबिया उडे । घरमा श्रीमती र दुई बच्चा छोडेर खाडी उडेका उनी गत साउन २६ गते बन्द बाकसमा फर्किए । बेलुका खाना खाइवरी सुतेका उनी बिहान सुतेकै ठाउँमा मृत फेला परे । परिवार पाल्ने र सुखको जिन्दगी बिताउने उनको सपना परदेशमै टुट्यो ।
मोरङका ३३ वर्षका खेम न्यौपाने दुई वर्षदेखि अटो चलाउँथे । दिनभर कुदाएको अटोले बिहान–बेलुका छाक टार्न पुग्थ्यो । तर त्यतिले मात्र आफ्नो आर्थिक स्थिति उक्सिने संकेत उनले देखेनन् । त्यसपछि उनले विदेशिने बाटो रोजे । २०७९ कात्तिक अन्तिममा एजेन्ट समातेर उनी मलेशिया उडे ।
मलेशियामा उडेको वर्ष दिन नपुग्दै उनी जन्डिसको शिकार भए । २० दिन विस्तारामै थलिएपछि उनले अस्पतालमै प्राण गुमाए । २०८० भदौमा परिवारले शव बुझेर उनलाई आर्यघाटमै सेलायो ।
यसरी वैदेशिक रोजगारीमा गएर मृत्युवरण गर्नुपर्ने नियति भोग्ने लक्ष्मण र खेम मात्र छैनन् । हरेक वर्ष वैदेशिक रोजगारीमा पुगेका सयौं नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन् । बितेको १० वर्षमा यसरी विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या डरलाग्दो देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक भन्छ– २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गयो ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० देखि २०८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता टीकाराम ढकाल भन्छन्, ‘यो हामीकहाँ आइपुगेको संख्या मात्र हो । अवैध रूपमा विदेशिएर मृत्यु वा बेपत्ता हुनेको संख्या झन् कति होला ?’
यसरी रोजगारीका क्रममा परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।
यस अनुसार आर्थिक वर्ष २०७०/७१ मा ७७७, २०७१/७२ मा १००६, २०७२/७३ मा ८२३, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२३ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा १२४३, २०७८/७९ मा १४७९, २०७९/८० मा १,२०८ जनाको मृत्यु भएको छ । यो तथ्यांकले दैनिक ४ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।
यसरी हरेक वर्ष मृत्युवरण गर्नेमा बढीजसो खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराइन र ओमान छन् । त्यस्तै मलेशियामा पनि ज्यान गुमाउनेको संख्या उत्तिकै छ ।
वैदेशिक रोजगारीमा गएर श्रमिकहरूले मृत्युवरण गर्नुमा कारण एउटा मात्रै छैन । गत वर्षकै तथ्यांक हेर्ने हो भने पनि परदेशमा विभिन्न कारण नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ ।
२०६५ देखि २०७९ सम्मको तथ्यांक हेर्दा विदेशमा नेपाली श्रमिकहरूले विभिन्न कारण ज्यान गुमाएको देखिन्छ । हृदयघातबाट २ हजार २५८, प्राकृतिक मृत्युबाट २ हजार २३२, विभिन्न रोगहरूबाट १ हजार ४९५, सडक दुर्घटनाबाट १ हजार ४४०, आत्महत्याबाट १ हजार २८३, कार्यस्थल दुर्घटनाबाट ७७८ जना श्रमिकको मृत्यु भएको छ । त्यस बाहेक हत्या र अन्य विभिन्न कारणले मृत्यु हुने गरेको देखिन्छ ।
यसरी परदेशमा मृत्युवरण गरेका श्रमिकको परिवारलाई बोर्डले ७ लाख क्षतिपूर्ति दिंदै आएको छ । ‘श्रम स्वीकृति अवधिभित्र मृत्यु भएमा ७ लाख दिंदै आएका छौं’ बोर्ड निर्देशक ढकालले भने, ‘श्रम स्वीकृतिको अवधि सकिएको हकमा २५ हजार क्षतिपूर्ति दिंदै आएका छौं ।’
चाडबाडकै बेला ३० शव
विडम्बना त के भयो भने परदेशमा मृत्यु भएर फर्किने नेपालीको शव चाडबाडको बेला पनि रोकिएन । बोर्डका अनुसार नेपालीको प्रमुख चाड दशैं र तिहारको बीच कात्तिकमा मात्रै ३० शव स्वदेश भित्रिए । ‘दुःखका साथ भन्नुपर्छ चाडबाडकै बेला पनि शव आइरहे’, उनले भने ।
यस्ता अनेकौं दुःखद् खबर आइरहे पनि वैदेशिक रोजगारी जानेहरूको संख्यामा कमी भने आउन सकेको छैन । विभागको तथ्यांक अनुसार पछिल्लो १० वर्ष मात्रै ४० लाख ६७ हजार ७५९ जना विदेशिएका छन् । यो तथ्यांक नयाँ श्रम र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।
विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार ८१४, २०७१/७२ मा ४ लाख ९९ हजार १०२, २०७२/७३ मा ४ लाख ३ हजार १७४, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३, २०७४/७५ मा ३ लाख ५४ हजार ८२ विदेशिएका छन् ।
त्यस्तै २०७५-७६ मा २ लाख ३६ हजार २०८, २०७६÷७७ मा १ लाख ९० हजार ४५३, २०७७÷७८ मा ७२ हजार ८९, २०७८/७९ मा ६ लाख ३० हजार १७, २०७९÷८० मा ७ लाख ७१ हजार ३२७ श्रमिक विदेशिएको बोर्डको तथ्यांकले बताउँछ ।
गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च रह्यो । विभागका अनुसार गत वर्ष मात्रै ७ लाख ७१ हजार पुग्यो ।