जुनको उज्यालोमा मकै सुकाउनी पर्व सोमबार साँझ गोरखा नगरपालिका–६, ठूलोआँगनमा मनाइएको छ । कात्तिक शुल्क पुर्णिमाको रात अमृत वर्षा हुने जनविश्वासका साथ सकिमना पुन्हीः पर्व मनाइएको हो ।
ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा हरेक वर्ष उक्त पर्व मनाउने गरिन्छ । मकैलगायतका विविध अन्नको पुजा गरी ग्रहण गर्ने परम्परा पुरानै रहेको गोरखा नगरपालिका–६ का मोहनलाल श्रेष्ठले बताए । ‘जिजुबाजेको पालादेखि नै चल्दै आएको परम्परा हो, यसलाई मकै सुकाउने पुर्णिमा पनि भन्छौँ,’ उनले भने,‘यसको महत्त्व अझै बढ्ने विश्वासले सामूहिक रूपमा पर्व मनाएका हौँ ।’
मकै, जुनेलो, पिँडालु, उखु, मास, सखरखण्डलगायतका विविध अन्न उब्जनी भएपछि यसरी नै जुनमा सुकाउने प्रचलन रहेको उनले सुनाए । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अगुवाइमा लोप हुन लागेको धार्मिक सम्पदा, ऐतिहासिक सपम्दाको संरक्षण गर्ने क्रममा मकै सुकाउने पर्वलाई प्राथमिकता दिइएको हो ।
भुटेको मकै, भटमास, मास, चना, केराउ,मस्याङ, जुनेलोलगायतका नौथरि अन्न फिँजाएर स्थानीले पूजा गरेका हुन् । पर्वको विधिवत पूजा गर्न पाका पुस्ता सक्रिय देखिन्थे । नयाँ पुस्ता पनि पर्व मनाउने विधि हेर्दै रमाएका थिए । सामूहिक पूजामा धिमे, पञ्चेबाजा तथा भजन पनि प्रस्तुत गरिएको थियो ।