देश चलाउने दलले हो भने दल चलाउने नेताले। नेतालाई कार्यकर्ताले चलाउँछन् जो नागरिकसँग प्रत्यक्ष जोडिएका हुन्छन्। त्यसैले देश नबदलिएको जिम्मा नागरिकले लिन थालेको दिन परिवर्तनको नयाँ अभियान सुरु हुनेछ।
अमेरिकाका चर्चित समाजवादी नेता बर्नी स्यान्डर्सको विचारमा राजनीतिक परिवर्तन यथास्थितिलाई चुनौती दिएर र विद्यमान शक्ति संरचनालाई अवरुद्ध गरेपछि आउँछ। नेपालको राजनीतिक इतिहासमा हरेक १०-२० वर्षको बीचमा केही उल्लेखनीय परिवर्तन हुने गरेको देखिन्छ। यसरी पटक–पटक व्यवस्था परिवर्तनका लागि आवाज उठ्नु सामान्य जस्तै भइरहेको छ।
आजसम्म एक पुस्ता अर्थात् ८० वर्ष नपुग्दै देशमा तीनपटक व्यवस्था फेरियो। आज संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था निर्माण भएको १७ वर्ष नपुग्दै फेरि पनि प्रश्नचिह्न खडा हुन थालेको छ। व्यवस्था विरुद्ध आवाज उठाउनेहरूले नागरिकको अवस्था परिवर्तनलाई न प्राथमिकतामा राखेका छन् न त कुनै भिजन प्रस्तुत गर्न सकेका छन्। यी विरोधका आवाज व्यक्ति स्वार्थहरूको राजनीतीकरण हो। भलै यसलाई सरकार र दलहरूको कमजोर प्रस्तुतिले इन्धन थपिरहेको छ।
अहिले जो व्यवस्था बदल्ने कुरा गरिरहेका छन्, उनीहरू आफैं बदलिन तयार छैनन्। उनीहरूको बोलीचाली, जीवनशैलीदेखि सोचसम्म पिछडिएको देखिन्छ। पारदर्शिता छैन। एकप्रकारले रहस्यमयी पात्रका रूपमा राजनीतिको रंगमञ्चमा प्रवेश गर्ने प्रयत्न गरिरहेका छन्।
नेपालमा अधिकांश नागरिकको सरोकार अवस्था परिवर्तनसँग जोडिएको छ, व्यवस्थासँग होइन। तर, मुट्ठीभर शासकहरुको सरोकार भने व्यवस्थासँग जोडिएको हुन्छ, अवस्थासँग होइन। यो नेपालको राजनीतिक इतिहासको तितो यथार्थ हो। हामी यसैको दुश्चक्रमा फसिरहेका छौं।
यहाँनेर भुल्न नहुने विषय के हो भने राजतन्त्रबाट गणतन्त्रको स्थापना गुणात्मक परिवर्तन हो। सामान्य सुधारात्मक व्यवस्था परिवर्तन होइन। स्यान्डर्सको भनाइलाई आधार मान्दा पछिल्लो समय समाजलाई पछाडि फर्काउने गरी जसरी केही समूहले आवाज उठाइरहेका छन्, यो अगाडि बढ्नको लागि होइन। यसले राजनीतिक यथास्थितिलाई चुनौती दिन खोजेको भाष्य बनाइरहेको त छ तर मौजुदा सत्ता संरचनालाई अवरुद्ध गर्ने हैसियत राख्दैन।
नेपालको आधुनिक इतिहासमा हाम्रा अग्रजले ७-८ दशक भूगोल एकीकरणको लागि खर्चिए। त्यसपछि हामी लोकतन्त्रको लागि लड्यौं। त्यसको लागि अर्को ७-८ दशकको समय बित्यो। अब नागरिकको अवस्था परिवर्तन प्रमुख मुद्दा हुनुपर्ने हो। न यो परिवर्तनकारी शक्तिको एजेन्डा बनेको छ न पछाडि फर्कन चाहने शक्तिहरूको।
पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन हाम्रो समाजमा कस्ता नेता–कार्यकर्तालाई सहयोग र समर्थन गर्ने ? पारदर्शिता सुनिश्चितताको लागि कसरी संघर्ष गर्ने ? यी सबै विषयमा नागरिक पनि सचेत रहनुपर्छ। सही कर्मलाई प्रोत्साहन र अवलम्बन गर्नुपर्छ
लोकतन्त्र स्थापनापछिको झण्डै दुई दशक समय यस्तै गलफत्ती र संक्रमणमा बितेका छन्। लोकतन्त्र स्थापनाको विभिन्न चरणमा परिवर्तनकारी नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक शक्तिहरू विस्तारै पुरानै व्यवस्थाको चरित्र र स्वभावमा अनुकूलित भए। उनीहरूको क्रान्तिकारिता विस्तारै स्खलित हुन थाल्यो। नागरिकको अवस्था परिवर्तनको एजेन्डा छायाँमा पर्न थाल्यो।
दलहरूभित्रको आन्तरिक लोकतन्त्र पनि अवरुद्ध हुन थाल्यो। अनि दल र सरकार केही सीमित स्वार्थ समूहको चङ्गुलमा फस्न थाले। यसबीचमा केही मानिसले व्यवस्था परिवर्तनबाट अकुत लाभ लिए र नयाँ वर्गमा रूपान्तरित भए। तर आम नागरिकको अवस्था अझै दयनीय छ। आकर्षक राजनीतिक नारा गाउँघरसम्म पुगेका छन् तर नागरिकको जीवन अत्यासलाग्दो छ।
परिवारको पेट पाल्न बुढेसकाल लागेका बाबुआमा र गर्भवती जीवनसंगिनी छाडेर विदेशिएका लाखौं लाख युवाको भत्किएको मन बुझाउन सक्ने कार्यक्रम दलहरूसँग छैन। अपारदर्शी कार्यशैली र प्रगतिले राजनीतिक दलहरू रहस्यमयी पात्रका रूपमा रूपान्तरित भए। यी सबै अवस्थाले समाजलाई पछाडि फर्काउन चाहने शक्तिहरूलाई बल पुगिरहेको छ। यो आजको नेपाली राजनीतिको दुःख हो।
यो दुश्चक्रबाट देशलाई बाहिर निकाल्न नसक्दासम्म गणतन्त्रवादीहरूको मौखिक प्रतिबद्धता र रोनाधोनाले केही हुनेवाला छैन। सर्वसाधारण नागरिकको जीवन कष्टकर बनाउँदै/राख्दै देखाइने रुमानी सपनाहरूले केही हुनेवाला छैन। यसले त फगत राजनीतिक नेतृत्व र जनताबीचको दूरी मात्र बढाउने हो।
नेपालमा लोकतन्त्रको कोपिला चुँडिने अवस्था आउनुमा परिवर्तन विरोधीभन्दा परिवर्तनकारी भनिने शक्तिहरूको भूमिका धेरै छ। यो स्वीकारोक्ति प्रमुख राजनीतिक नेतृत्वमा अझै पाउन सकिन्न। उनीहरूमा एकप्रकारको अहं र सत्तालिप्साको भावना छ।
नागरिकलाई पनि मत बदल्न गाह्रो भइरहेको छ। नागरिकसँग सीमित विकल्प छन्। हाम्रो राजनीतिक र लोकतान्त्रिक साक्षरता कमजोर रहेसम्म देश बदलिंदैन। कस्तो नेता चुन्ने ? कस्तो दल चुन्ने ? नागरिकले आफ्नो मतको शक्ति नबुझुन्जेल लोकतन्त्र बलियो बन्न सक्दैन।
त्यस्तै, पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन हाम्रो समाजमा कस्ता नेता–कार्यकर्तालाई सहयोग र समर्थन गर्ने ? पारदर्शिता सुनिश्चितताको लागि कसरी संघर्ष गर्ने ? यी सबै विषयमा नागरिक पनि सचेत रहनुपर्छ। सही कर्मलाई प्रोत्साहन र अवलम्बन गर्नुपर्छ।
बदलिएको व्यवस्थाबाट व्यक्तिगत र गुटगत फाइदा लिने तर नागरिकको आकांक्षाको न्यूनतम सम्बोधन पनि नगर्ने दल र नेतृत्व विस्थापित गर्नुपर्छ। यो सामान्य अभिभारा होइन तर यो पूरा नगरी नेपाली समाज अहिलेको दुश्चक्रबाट बाहिर निस्कन सक्दैन
लामो त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट गुज्रिएर आएका राजनीतिक नेतृत्व र दलको लोकतान्त्रिक रूपान्तरण नहुनु दुःखद् छ। न हाम्रो राजनीतिक नेतृत्वको व्यवहारले नयाँ पुस्तालाई प्रगतिशील र उन्नत राजनीतिक संस्कार सिकाउन सक्यो न परिवर्तनको इतिहासलाई पाठ्यक्रममा समावेश गरेर पढाउन। यही कमजोरीमा टेकेर पश्चगामी तत्वहरूले टाउको उठाउने कोसिस गरिरहेका छन्।
आज समाजलाई पछाडि फर्काउन चाहने पात्रहरू विगतमा स्वतन्त्र राजनीतिक जीवन बिताएका पात्र छैनन्। उनीहरू सत्तारुढ दलहरूको नेतृत्व तहमा पुगेका पात्रहरू नै छन्। राज्य व्यवस्थामा पुगेर सेवा–सुविधा लिइसकेका र लिइरहेकाहरू समेत छन्। यसलाई लोकतान्त्रिक व्यवस्थाको विराट चरित्रको रूपमा चित्रित गर्न सकिन्छ। निरंकुश व्यवस्थामा गणतन्त्रको माग राख्दा नेपाल आमाकै हजारौं सन्तानले तातो गोली खानुपर्यो। तर लोकतान्त्रिक व्यवस्थामा निरंकुशताको नारा लगाउन सडकदेखि संसद् खुल्ला छ। यो कुरा नयाँ पुस्ताले बुझ्नुपर्छ, उनीहरूलाई बुझाउनुपर्छ।
अर्को महत्वपूर्ण विषय, परिवर्तनका उपलब्धि उल्टाउन खोज्ने तत्वहरूलाई अहिलेको हैसियतमा उठाउने र चिनाउने राजनीतिक पार्टी र नेतृत्व नै हुन्। कुनै सर्वसाधारणको चाहना र रुचिले उनीहरू यो हैसियतसम्म पुगेका होइनन्। त्यसैले अहिलेको व्यवस्था र अवस्थामाथि प्रश्न खडा गर्ने र यो व्यवस्था र अवस्थाको नेतृत्व गर्नेका बीचमा अन्योन्याश्रित सम्बन्ध देखिन्छ।
जेहोस्, अब लामो समय नेपाली समाज यथास्थितिमा रहन सक्ने छैन। समाजलाई अगाडि बढाउने नागरिकको अवस्था बदलेर हो। यसका लागि दलहरूले आफ्नो प्राथमिकता बदल्नुपर्छ। आफ्नो एजेन्डा स्पष्ट बनाउनुपर्छ। गाँस, बास, कपास र रोजगारीको लागि भौंतारिइरहेका नागरिकको आवश्यकता सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्छ। भ्रष्टाचार र कुशासन विरुद्ध निर्मम भएर लाग्नुपर्छ। यी सबै कामका लागि नयाँ पुस्ताले दलहरू र सामाजिक-आर्थिक संरचनाको आमूल परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्छ।
यी सबै कामले समाजको प्रगतिशील रूपान्तरणको विकल्पलाई बलियो बनाउँछ र हरेक नागरिकले यही विकल्पको व्यावहारिक रूपान्तरणका लागि बल पुर्याउनुपर्छ। यसक्रममा बदलिएको व्यवस्थाबाट व्यक्तिगत र गुटगत फाइदा लिने तर नागरिकको आकांक्षाको न्यूनतम सम्बोधन पनि नगर्ने दल र नेतृत्व विस्थापित गर्नुपर्छ। यो सामान्य अभिभारा होइन तर यो पूरा नगरी नेपाली समाज अहिलेको दुश्चक्रबाट बाहिर निस्कन सक्दैन।
अन्ततः नागरिक नबदलिएसम्म नेता बदलिंदैनन्, देश बदलिन्न। किनकि देश चलाउने दलले हो भने दल चलाउने नेताले। नेतालाई कार्यकर्ताले चलाउँछन् जो नागरिकसँग प्रत्यक्ष जोडिएका हुन्छन्। यसरी नागरिक बदलिएको दिन नेता र दलहरूको चरित्र नबलिने कुरै हुँदैन। त्यसैले देश नबदलिएको जिम्मा नागरिकले लिन थालेको दिन परिवर्तनको नयाँ अभियान सुरु हुनेछ।